
जनकपुरधाम – सप्तरीमा लुटपाट गर्दै गोली हानी हत्या गरेको घटनामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्लाको सुरुङ्गा नगरपालिका ८, मलहनमा टोल बस्ने ६५ वर्षीय कन्तलालको हत्या गर्दै घरमा लुटपाट गर्ने गिरोह र लुटपाटको सामान किनबेच गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले गत जेठ २३ गते राति १ बजेको समयमा डाँकाहरुको समूहले चौधरीको घरमा लुटपाट गर्दा डाकाहरुलाई चिनेको भनेपछि गोली हानी हत्या गरेको मृतकको श्रीमतीको ब्यानलाई उदृत गर्दै जनाएका हुन्।
यस घटनामा प्रहरीले लुटपाट गर्ने सुरुङ्गा ८, बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, बोदेबसाईन नगरपालिका २, बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका ११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका ८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुरको बेलका नगरपालिका १ बस्ने २८ वर्षीय चन्दर मरिकलाई पक्राउ गरिएको छ।
यस्तै, लुटपाटको गरगहनाहरु संकलन गरी बेचबिखन गर्ने सुरुङ्गा ७ पोखरिया बसनपट्टी बस्ने ३३ वर्षीय राजु कुमार विश्वकर्मा, विश्वकर्माले सुन चाँदीको गरगहना गलाउन दिएका सिरहाको लहान नगरपालिका ७ स्थित सञ्चालित श्रधा सुन चाँदी गलाई सेन्टरका सञ्चालक ५२ वर्षीय महेन्द्र गोड्से, सुन चाँदी खरिद गर्ने ओम ज्वेवर्सका सञ्चालक सिरहाको लहान ८ बस्ने ३८ वर्षीय उमेश साह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन्।
लुटपाट एवं हत्या पश्चात प्रहरीले विशेष सुराकीको आधारमा राजु कुमार विश्वकर्मालाई गत शुक्रवार नियन्त्रणमा लिएपछि घटनामा संलग्नहरुको नाम एवं पहिचान खुलेको प्रहरीले जनाएका छन्। विश्वकर्माले आरोपितहरुको नाम भन्दै गरगहनाहरु बेचेको भनेपछि उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको बेचेको स्वीकार गरेको प्रवक्ता बस्नेतले बताए। उनले बरामद गरिएको गरगहनाहरु मृतकका श्रीमती लराई देवी र छोरा नन्द किशोर चौधरीले लुटपाटमा लगेको गहनाहरुमध्येकै गरगहना रहेको सनाखत गरेका थिए।
प्रहरीले उनीहरुबाट चाँदीको बाला १ थान, बलिया १ थान, कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड र खुकुरी एक थान समेत बरामद गरेको छ। प्रारम्भीक अनुसन्धान पश्चात डाका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।