
धनगढी- नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ ।
नेकपा एमालेको समर्थनमा २०८१ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज मंगलबार एक वर्षको कार्यकाल पूरा गरेका हुन् ।
एक वर्ष पूरा भएको अवसरमा मंगलबार एक औपचारिक कार्यक्रम गरी मुख्यमन्त्री शाहले कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण मन्त्रीसहित सबै मन्त्रालयका सचिव राखेर भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा मुख्यमन्त्री शाहले एक वर्षमा भएका उपलब्धिको विवरण भन्दै ३६ बुँदामा सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८१/८२ मा खर्च गर्ने क्षमता बृद्धि गरेर ७०.२२ प्रतिशत वित्तीय प्रगती हासिल गर्न सक्षम भएको भन्दै यसलाई सरकारको अहिलेसम्मकै उच्च उपलब्धि भनेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा सबै प्रदेश मध्ये ५१.६ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिम पहिलो बन्नु, प्रदेशलाई साक्षर घोषण गरिनु, एसियाली विकास बैंकले लगानी तथा विकास सम्मेलन सफल बनाउन लागत साझेदारी र अन्य सहयोग गर्न प्रतिबद्धता जनाएको लगायतलाई समेत महत्त्वपूर्ण उपलब्धिका रुपमा राखिएको छ ।
साथै शाहले मुख्यमन्त्री स्तरीय भारत भ्रमणलाई प्रदेश सरकारकाे ऐतिहासिक काम भनेका छन् । उनले औपचारिक रुपमा भारत भ्रमण गर्ने सुदूरपश्चिम प्रदेश पहिलाे रहेकाे दाबी गरे ।
एक वर्षको अवधिमा प्रदेश सरकारले तीन सय ५५ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको मुख्यमन्त्री शाहले बताए । उनकाअनुसार १०६ किलोमिटर सडक कालोपत्रे, १०३ किलोमिटर ग्राभेल र १४६ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ ।
यसैगरी सतही, भूमिगत र नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीबाट एक हजार ६२८ हेक्टर जमिनमा सिँचाइ सुविधा थप गरिएको र मर्मत कार्यबाट १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ सुविधालाई पुनःस्थापना गरिएको उनले बताए ।
यस्तै, मुख्यमन्त्री शाहले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदैन’ भन्ने सिद्धान्त अंगिकार गरी भ्रष्टाचार गर्नेलाई तत्काल कारवाही गरिएकाे जिकिर गरे । साथै उनले यस प्रदेशमा लगानी आकर्षित गर्न मंसिर १ र २ गते लगानी सम्मेलन, आयाेजना गरिएकाे र त्यसका लागि पूर्वतयारी सम्मेलन गरिएकाे पनि उपलब्धिमा सुनाए ।