
गीत संगीतकाे बजार फैलिँदाे छ। थुप्रै युवाहरू संगीतमै ‘करिअर’ खोज्नेहरू छन्। आफ्नै युट्युब च्यानल र ‘सिजनेबल’ गीतसंगीत निकाल्ने गायक संगीतहरू चलिहरेका छन् बजारमा। तर पछिल्लो समय गीत हिट बनाएर रातारात मेला महोत्सव र विदेशमा हुने सांगीतिक कार्यक्रममा पुग्नेहरू पनि छन्।
के आजकाे भाइरल गीतका कलाकार गीतसंगीतमा गम्भीर छन्? तिनले सिर्जना गरेका गीतसंगीतमा नेपालीपन र मौलिकता भेटिन्छ? माटोको सुगन्ध छ? के म्युजिक कमाइ खाने भाँडो मात्रै हो?
यस्तैयस्तै प्रश्नहरू साथी-सर्कलमा उठाइरहन्छन् गायक संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपाल (४०)।
संगीतमा साह्रै गम्भीर छन् उनी। अरु पनि हाेलान् तर पछिल्लाे समय विदेशमा हुने सांगीतिक कार्यक्रमले नेपालीकाे माैलिक संगीत र देशलाई चिनाउला? बत्तीसपुतलीस्थित नेपाल म्युजिक सेन्टरमा विद्यार्थीलाई संगीतका सात सुर घोकाइ सकेर पुग्छन् सहरका ‘चियालय’हरू संगीत गफिन्। मित्रहरूमा प्रश्न तेर्साउँछन्।
त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा स्तानकोत्तर गरेका गोपाल घन्टौ गीत संगीतका कुरा गर्छन्। ‘पहिलोपटक मलाई भेट्नेले धेरै बोल्यो भनेर दिक्दारिन सक्छन् तर मेराे चिन्ता संगीतलाई ताेडमाेड गर्न थालेकाे प्रति छ,’ उनले भने, ‘कल्चर म्युजिक त हराउला भन्ने पाे भयाे।’
कल्चर म्युजिक खाेज्दै सहरका गल्लीदेखि देश विदेश हिँडिरहन्छन् मदन। नेपाली संगीत हिजोको भन्दा धेरै माथि उक्लिए पनि मौलिकता गुम्दो अवस्थामा रहेकाे बताउँछन्। भन्छन्, ‘हरेक जनराका गीत आउनुपर्छ तर नेपालीपन, संस्कृति बिर्सिउने गीत कसका लागि ल्याउने। के क्षणिक चर्चा नै हो त हाम्रो गीत?’
समय भाइरलको छ। गीत संगीत करोड भ्युजको आधारमा हेरिन थालिएको छ। तर मदन गीतसंगीत हेरेर मात्रै मुल्याङ्कन गर्नु हुँदैन भन्छन्, ‘संगीतको मौलिकता भ्युजकाे आधारमा हुन थालेपछि नयाँ पुस्ताले के सिक्ने?’
मोरङको सिजुवामा जन्मेका मदनले सांगीतिक क्षेत्रमा बिताएकै दुई दशक भयो। साठीको दशकको सुरुवातीबाट संगीतकर्ममा लागेका मदनले तीन दर्जन बढी गीत त आफैले गाएका छन्। पालमदेखि देउडासम्म गाउँछन् मदन । र पनि दुःखी छन् मदन नेपाली संगीतलाई बिगार्न थालिएप्रति। उनीसँग अनेकन प्रश्न छ र आफ्नै गीतमा पनि पूर्ण सन्तुष्ट छैनन्।
गीतमा प्रयोग हुने बाजा तिनै हो। तर लयले गीतलाई तोडमोड गरियो। ‘प्रयोगका नाममा नयाँ पुस्तालाई परम्परागत गीतको स्वादै बिर्साइदिने हो त?’ मदन प्रश्न गर्छन्, ‘के पचास वर्ष अघिका गीतसंगीत जेन्जी पुस्ताले नसुन्ने। सुन्न नदिने?’
विश्व संगीतको भाषा एउटै हो। सात सुरमै टेकेर संगीत गरिन्छन्। भाषा फरक भए पनि भावना उस्तै हुन्छ। लय फरक भए पनि धुन उस्तै लाग्छन्। बाजाहरू तिनै हुन्छन्। र नेपाली मौलिक गीत बोकेर विश्वमा हिँड्नु पर्ने थियो तर त्यसो हुन नसकेको देख्छन् मदन। भन्छन्, ‘संगीतको व्याख्या हरेक देशले आ—आफ्नै गर्लान् तर नेपालीपन झल्किने म्युजिक बाहिर लान हामीले किन लाज मान्ने?
‘म त अहिले कल्चरल संगीत बाेकेर देश बाहिर हिँडिरहेकाे छ,’ उनले भने।
कल्चरल म्युजिक
मदन सबै बाजा बजाउँछन्। नेपालका एक सय भन्दा बढी भाषाभाषी बोल्ने समुदायको गीत संगीत पनि गाइदिन्छन्। त्यसैले त निस्किन्छन् लामो सांगीतिक कन्सर्टका लागि देश बाहिर।
‘कल्चरल म्युजिक’का लागि देशदेशावर गरिरहन्छन्।
दर्जन बढी देशमा कल्चरल म्युजिक कन्सर्ट गरिसकेका मदनले पछिल्लोपटक साउथ अफ्रिकाको रुवाण्डा देशमा पुगेका थिए, संगीतिक कार्यक्रम लिएर। थुप्रै देशका गायक कलाकारकाे माझ उनले आफ्नाे प्रस्तूति दिए। नेपाली मौलिक गीत पस्किए। ‘मैले जब नेपाली लोक झ्याउरे गाए उहाँहरू खुब नाच्नु भयो। पछि महसुस भयो संगीतको कुनै देश हुँदैन। संगीत भावना हो जसलाई पनि छुन सक्छ,’ उनले भने।
मदन आफूलाई खासै महत्व दिएनन्। दिन्थे भने उनी मानिसका अगाडि कम बोलिदिन्थे होलान्। गीत संगीतमा गम्भीर हुन खाँचो देख्थेनन् होलान्। लामाे कपाल पालेर संगीतमा हराउँथेनन् हाेलान्। एउटै मञ्चमा कहिले नेपाली राष्ट्रिय पोशाक, कहिले अघोरी पोशाक त कहिले आम मान्छेले लगाउने सर्टपाइन्टमा उनले प्रस्तूति दिएका छन्। किन त्यसो गर्छन् त? उनी भन्छन्, ‘संगीतमा आरोहअवरोह पाइन्छ र जीवनमा पनि।’
कल्चरल प्रोग्रामको नाम दिएर यात्रा गर्न रुचाउने मदनको ‘क्रेज’ पाकिस्तानीमा बढी छ । उनकाे गीत-संगीतलाई पाकिस्तानका दर्शक स्रोताले अत्यन्तै मन पराइदिएका छन्। भन्छन्, ‘थुप्रैपटक पाकिस्तानमा कल्चरल कार्यक्रम गरेको छु।’
पाकिस्तानी गर्भनरबाट ‘प्रिन्सेस मेडल’समेत पाएका मदन भन्छन्, ‘पाकिस्तानी संगीत अत्यन्तै धनी छ। किनकि उसले आफ्नो मौलिकता बिर्सिएको छैन।’
माइती नेपाल र म्युजिक नेपालमा संगीतमै काम गरेका मदनले ‘साँघुरो’ चलचित्रमा संगीत नै दिए। आफूलाई हिट बनाउने होडमा उनी छैनन्। त्यो दौडबाट टाढा बसेका मदन कल्चरल कार्यक्रम र संगीतका विद्यार्थीसँग खुसी छन्।
रेडियो नेपालबाट शास्त्रीय स्वर परीक्षा उत्तीर्ण गरेका मदनले राजधानीमा बाँच्नकै लागि स्कुल खोले। तर कोरानाले सुकाइदियो स्कुल। लकडाउनमा अनलाइन संगीत सिकाए। ‘अरू कुराबाट निराश भइँदा पनि संगीतले निराशपनलाई हटाइदिन्थ्यो। साच्चै संगीतले मान्छेलाई बाँच्न सिकाउँदोरहेछ,’उनी भने।
‘माया लैलै..मुटुमै किन ?’ तिम्रो खबर, हेलिकप्टर, मेरो मायाले दिएको जस्ता गीत लोकप्रिय छन्। ‘अल मोष्ट,’ ‘कामिनी’, ‘लक्ष्मी’, ‘आकृति’ जस्ता एलबम निकालेका मदन ‘सेल्फ क्रिएशन’ गर्न रुचाउँछन्। भन्छन्, ‘संगीत मन पराउनेकाे भीड देख्न पाए पुग्छ।’
मोतीराम भट्टको रचनालाई लिरिकल भिडियो बनाएर बजार ल्याएका मदन नेपाली संगीत बिगार्ने कामलाई रोक्ने कोसिस सबैले गर्न पर्ने बताउँछन्। भन्छन्, नेपाली संगीतलाई बिगार्नबाट राेक्न सबैले लाग्ने समय आयाे। मौलिकपन बिना नेपाली संगीत बाँच्दैन।’