
पाटन- आज दिवङ्गत भएका आफन्तहरूको सम्झना तथा उनीहरूको आत्मशान्तिको कामना गर्दै गाईजात्रा पर्व काठमाडौँ उपत्यकासहित ललितपुरको पाटन क्षेत्रमा पनि परम्परागत र सांस्कृतिक विधिबाट मनाइएको छ।
नेवार समुदायको विशेष पर्व मानिने गाईजात्रामा पाटन दरबार स्क्वायर क्षेत्र भरिभराउ देखिएको थियो। दिवङ्गत आफन्तको सम्झनामा निकालीने गाईजात्रा ललितपुरको पाटन दरबार क्षेत्रबाट सुरु भई नगर परिक्रमा गरिएको हो। धार्मिक विश्वास अनुसार, यसरी नगर परिक्रमा गरे मृत आत्माहरूले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष प्राप्त हुन्छ।
गाई पाल्नेहरूले गाईहरूलाई रंगीचंगी पहिरन र माला लगाएर सिंगार्दै नगर परिक्रमा गराएका थिए। त्यस्तै, कतिपय सहभागीहरूले जोगीको भेषमा रंगीबिरंगी कपडा, मुखुण्डो, लामो जामा र पटुका लगाई सांस्कृतिक बाजागाजासहित जुलुसमा सहभागिता जनाएका थिए।
पर्वको अवसरमा पाटनको ऐतिहासिक कृष्ण मन्दिरमा विशेष पूजा-अर्चना गरिएको थियो भने, सांगीतिक पाठ पनि गरिएको थियो।
गाईजात्राको दिन माग्नेहरूको पनि पाटन क्षेत्रभर उपस्थिति उल्लेख्य देखिएको थियो। हास्यव्यङ्ग्य प्रस्तुतिहरू, रमाइला वेशभूषा र बालबालिकाको उत्साहले वातावरण झन् जीवन्त बनाएको थियो।
सरकारले गाईजात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिएको थियो। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरूले आ-आफ्ना परम्परा अनुसार यो पर्व मनाउँदै आएका छन्।
यसै क्रममा, पत्रकार सुरेश रजकलाई ‘सहित घोषणा’को मागसमेत गरिएको थियो। उनका शुभचिन्तकले उनको तस्बिर बोकेर सहभागी भएका थिए।
थप तस्बिरहरू: