
पाटन- गत चैत्र १५ मा तीनकुनेमा राजसंस्था पक्षधरहरूको प्रदर्शनका क्रममा आगलागीमा परी निधन भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको सम्झनामा आज ललितपुरको पाटनमा आयोजित गाईजात्रा पर्वमा विशेष सहभागिता जनाइएको छ।
दिवङ्गत आफन्तहरूको आत्मशान्तिका लागि मनाइने गाईजात्रामा रजकका शुभचिन्तकले उनलाई ‘सहिद घोषणा’को माग गर्दै सांस्कृतिक नगर परिक्रमा गरेका हुन्।
रजकले उक्त दिन तीनकुनेमा भइरहेको आगलागीग्रस्त घरबाट लाइभ गरिरहेका थिए। सोही क्रममा उनी आगोको चपेटामा परेर ज्यान गुमाएका थिए।
आजको गाईजात्रामा रजकको सम्झनामा उनको तस्बिरसहित बोकेर नगर परिक्रमा गरियो। पर्वको अवसरमा पाटन दरबार स्क्वायर क्षेत्रमा सांस्कृतिक झाँकी, गाई सिँगारेर परिक्रमा, जोगी वेशभूषामा सहभागीहरूको नाचगान, कृष्ण मन्दिरमा पूजा तथा संगीत पाठ गरिएको थियो ।
गाईजात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाले आ-आफ्ना परम्पराअनुसार पर्व मनाउँदै आएका छन्।