
जनकपुरधाम – सर्लाहीमा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। सर्लाहीको बरहथवा नगरपालिका–१२ स्थित लखन्देही खोलाले बगाउँदा कविलासी नगरपालिका १, पिपरिया बस्ने ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको प्रहरीले जनाएका छन्।
खोला पारी खेतमा काम गर्न जाँदा जमिरलाई खोलाले बगाएको थियो । उनलाई खोजी गर्नेक्रममा दिउँसो बरहथवा–१७, स्थित बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा मृत फेला पारिएको प्रहरीले जनाएका छन्।
यस्तै, शनिबार समेत बलरा नगरपालिकामा डुबेर एक जनाको मृत्यु भएको थियो। बलरा नगरपालिका ६, मिर्जापुरमा घाँस काटेर घर फर्किदै गर्दा खोला तर्नेक्रममा चिप्लिएर जलकुम्भीमा टाउको फस्दा स्थानीय बिकाउ बैठाकी छोरी १६ वर्षीया रंगिला बैठाको मृत्यु भएको थियो।