
धनगढी – कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका भरत चौधरीको शव आफन्तले बुझेका छन्।
धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय चौधरीको शव चार दिनपछि आफन्तले बुझेका हुन्।
जिल्ला प्रशासन कार्यालय, कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलमा उनीहरूले माग सम्बोधन भएपछि मात्रै शव बुझ्ने बताएका थिए।
मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू उनीहरूले प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई सुनाएका थिए।
प्रमुख जिल्ला अधिकारी हमाल माग सम्बोधन गर्न तयार भएपछि आफूहरूले शव बुझेको मृतकका भाइ विजय चौधरीले बताए। छलफलपछि जिल्ला प्रहरी कार्यालयका मृतकका परिवारले जाहेरी पनि दिएका छन्।
उक्त जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले बताए। जाहेरी दर्तापछि मृतकका आफन्तहरू शव बुझ्न तयार भएका उनले बताए।
लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा हत्या भएको थियो। कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए।