
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले मनोहरा किनारका केही घरमा डोजर चलाएको छ। महानगरको नगर प्रहरीले शुक्रबार मनोहरा खोला किनारका केही घर डोजर चलाएर भत्काएको हो।
नगर प्रहरी प्रमुख राजु पाण्डेले केही भूमाफियाले जग्गा किनेर घर बनाएको सूचना पाएपछि अवैध संरचना भत्काइएको बताए।
‘भूमाफिया भनिएको छ। ती व्यक्तिहरूले यहाँ सोझासाझा मान्छेहरूलाई केही पैसा रकम दिँदै यहाँ जग्गा किने। यहाँ टहरा बनाउने भनेर हामीलाई सूचना आएको, त्यसको आधारमा हामी यहाँ आएको हो,’ उनले भने।
मनोहरा जग्गा एकीकरण आयोजनाको आग्रह र मेयर बालेन शाहको निर्देशनमा अनधिकृत संरचनाहरू भत्काइएको उनको भनाइ थियो।
उनले भने, ‘व्यक्तिको लालपुर्जा भएको जग्गा यो भक्तपुरको। भक्तपुरको पहिला यहाँ खेतिपाती हुने ठाउँ हो। यहाँ आयोजना चलेको छ, मनोहरा जग्गा एकीकरण आयोजना। आयोजनामा सबै लालपुर्जा खिचेर टाउन प्लानिङ बनाएपछि लालपुर्जा फिर्ता दिने क्रममा रहेको अवस्थामा अनधिकृत तरिकाले व्यक्तिको सम्पत्ति कब्जा गर्ने जुन काम भएको छ, त्यसको लागि मनोहरा जग्गा एकीकरण आयोजनाको अनुरोध र यस्तो संरचना भत्काउनु भन्ने मेयरसापको निर्देशनपछि हामी यहाँ आएका हौँ।’
काठमाडौँ र भक्तपुरका सिडिओ, प्रहरीसँगको समन्वयमा नै आफूहरू अवैध संरचनाहरू भत्काउन पुगेको उनले बताए।
तस्बिरहरूः बर्षा शाह/देश सञ्चार