
काठमाडौँ – पूर्वमुख्यसचिव लीलामणि पौड्यालले मुलुकमा व्यापारका सबैभन्दा ठूला चुनौतीहरुलाई निकासी पैठारी (नियमन) विधेयकले समेट्न नसकेको बताएका छन्।
शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा भएको निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग भएको छलफलमा पौडेलले आयात निर्यातमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न नसकेकाले परिमार्जन गर्न सुझाव दिए।
पौड्यालले यो ऐन आयो भनेर खुशी हुनुपर्ने अवस्था नरहेको उल्लेख गरे। पूर्वसचिव पौडेलले अहिलेको वाणिज्य क्षेत्रको एकीकृत ऐनको आवश्यकता हो भने भन्सार ऐन, औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन, आर्थिक ऐन, विदेशी मुद्रा विनिमय, वैदेशिक लगानीका विषयहरु निकासी प्रवद्र्धन ऐनमा नसमेटिएको बताए।
त्यो समेटिएर आउने हो भने मात्रै निकासी प्रवद्र्धन ऐनले अहिलेका चुनौतीहरु सम्बोधन गर्नसक्ने बताए।
पौड्यालले भने, ‘संसारमा सबैभन्दा धेरै ट्रेड ग्याप हुने मुलुकमध्ये नेपाल अग्रस्थानमा पर्छ । अधिकांश मुलुकहरुको आयात, निर्यातमा यति धेरै ग्याप हुने मुलुक अन्त कतै छैन । त्यसैमा पनि निर्यात भएको वस्तु दिगो छैनन् । ७५ प्रतिशत निर्यात बढ्यो भनेर प्रधानमन्त्रीज्युले नै सांसदमा भनेको सुनियो । सबैले खुशी व्यक्त गरेको देखिन्छ । म त खुशी हुनुपर्ने कुनै कारण नै देख्दिन।’
पौडेलले नेपालको रणनैतिक योजना नेपालमै धेरै उद्योगहरु स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, निकासी बढाउने, अर्थतन्त्रलाई दिगो बढाउने, स्वावलम्वन आत्मनिर्भर अर्थतन्त्र बढाउने हुनुपर्ने सुझाव दिए। उनका अनुसार उद्योगी निकासीको ८ प्रतिशत हिस्सा नेपालमै उत्पादन नभएका वस्तुहरु रहेको छ ।
नेपालले निर्यात नै गरेको छैन भन्दा पनि फरक नपर्ने पौडेलको विश्लेषण थियो। अहिले भइरहेको निर्यातले नेपालको अर्थतन्त्रलाई दीगो रुपमा सहयोग गर्ने खालको नरहेको उनको भनाइ छ ।
कार्पेट निर्यातमा नेपालको श्रम, सीपको प्रयोग भएको र नेपालको पहिचान झल्किने खालको रहेको र आगामी दिनमा पनि त्यस्तो खालको निर्यात हुन जरुरी रहेको पौड्यालले बताए।