काठमाडौँ – सक्रिय राजनीतिमा फर्किएकी एमाले पूर्वउपाध्यक्ष विद्यादेवि भण्डारीले प्रदेशहरुमा राजनीतिक गतिविधि अघि बढाउने भएकी छिन्।
पूर्वराष्ट्रपतिको हैसियत छाडेर सक्रिय राजनीतिमा आउने तयारी गरे पनि अध्यक्ष केपी ओलीले पार्टी सदस्यता नै निष्क्रिय बनाइदिएपछि भण्डारीको पार्टीमा औपचारिक रुपले सक्रिय हुने अवस्थाको अन्त्य भएको छ।
मदन भण्डारीले दिएको पार्टी सदस्यता कसैले खान नसक्ने र आफू सक्रिय रहने उद्घोष गरेकी भण्डारीले राजनीतिक गतिविधिलाई अघि बढाउने भएकी हुन्।
भण्डारीका स्वकिय सचिव राजकुमार राईका अनुसार भण्डारी भदौ २ गते कोशी प्रदेशको विराटनगरमा जाने तयारीमा छिन्। त्यहाँ उद्घोष दैनिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा जाने भण्डारीले एमालेका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछिन्। उनले कोशीमा केही दिन बिताउने तयारी गरेकी छिन्।
त्यस्तै भदौ १४ गते मधेश प्रदेशको वीरगञ्जमा पनि भण्डारी जाने भएकी छिन्। वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सहभागीता सँगै उनले त्यहाँ पनि राजनीतिक भेटघाट गर्नेछिन्।
एमाले नेतृत्वमै दाबी गरेपछि ओलीले भण्डारीको पार्टी सदस्यता नै खारेजीको अवस्थामा पुर्याएका छन्। भण्डारीसँग कुनै पनि तहका नेता कार्यकर्तालाई नभेट्न ओलीले संस्थागत रुपमै निर्देशन दिएका छन्।
उनको पक्षमा खुलेका केही नेता कार्यकर्तालाई कारबाही समेत गरेका छन्। तर भण्डारी आफ्नो राजनीतिक गतिविधि नरोक्ने निर्णयमा पुगेकी हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































