
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संसदीय दलका नेता गंगाराम चौधरी कारबाहीमा परेका छन्। उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संसदीय दलको नेता र पार्टी पदाधिकारी नरहने गरी शुक्रबार कारबाही गरेकी हुन्।
अध्यक्ष श्रेष्ठले शुक्रबार एक पत्र पठाउँदै चौधरीलाई कारबाही गरेको जानकारी गराएकी हुन्।
चौधरीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको र आफूमाथि लागेको आरोप स्वीकार गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन्।
अध्यक्ष चौधरीले पठाएको चिठीमा चाैधरीलाई कारबाही गर्नुको कारण ‘मिति २०८२२।०४।०३ गते संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधानविपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको। संवैधानिक आयोगको रूपमा रहने सम्मानित निर्वाचन आयोगको बैठक संख्या १०३३२०८० को मिति २०८०।११।२४ को निर्णयविपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपययोग गरि विभिन्न निर्णय एंव पत्राचारहरू गरेको। दल त्याग गरेको एवं केन्द्रीय कमिटी पदाधिकारीसमेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको’ उल्लेख गरेकी छन्।