फूलैफूलको बगैँचामा हराउने रहर, बर्खामा पनि पर्यटकको रोजाइमा ढोरपाटनको बुकीपाटन

फूलैफूलको बगैँचामा हराउने रहर, बर्खामा पनि पर्यटकको रोजाइमा ढोरपाटनको बुकीपाटन
+
-

पोखरा- झमझम दर्किरहेको बर्खेझरी । बर्खाको बेला झरीपछिको बाढी पहिरोले यात्रालाई रोक्ने सम्भावित दृश्य उनका आँखा वरपर फनफनी नाँचिरहे ।

आकाशको बादलजस्तै मनमा मडारिएको भयको बादलले म्याग्दीकी निर्मला कटुवाल क्षेत्रीको ढोरपाटनको बुकीपाटन यात्रालाई रोक्न सकेन । क्यामेराले कैद गरेर इन्टरनेटमा छ्यापछ्याप्ती बनाइएको ढोरपाटनका बुकीफूल र बुकीपाटनको मगमग वासनाले निर्मलालाई निम्ताइरहेको थियो ।

सामाजिक सञ्जालको पर्दामा देखेको मोहनि दृश्यले लोभ्याएपछि दर्किरहेको झरी, सडकको खाल्डाखुल्डी छिचोल्दै उनी निष्पट अध्याँरोमा ढोरपाटनको काखमा पुगेर सुस्ताइन् । वस्तीमा पिलिकपिलक गरिरहेका बिजुलीको चहक बाहेक उनले ढोरपाटन पुग्नेबेला अरु केही देख्न पाइनन् ।

भोलिपल्ट विहान आँखा खुल्नेवित्तिकै उनलाई तस्बिरमा देखेको ढोरपाटन प्रत्यक्ष नियाल्ने हतारो भयो । हत्तपत्त विस्तारा छाडेर होटलको बार्दलीबाट पहिलोपल्ट तस्बिरमा देखेको ढोरपाटनको फाँट आँखै अगाडि नियाल्दा उनलाई लाग्यो, ‘यो त कुनै चित्रकारले कोरेको विशाल क्यानभास नै होला ।’

‘हरियो पाटनमा राताम्मे हुने गरेर फूलेका बुकीफूलहरु । फूल विछ्याइको पाटनमा टहलिएका घोडा । माथि माथि आकाशमा देखिएका बादलका टुक्राहरु । चारैतिर हरिया डाँडाकाँडा । ओहो! प्रकृति सिंगारिएर कसैको पर्खाइमा छ’, निर्मलालाई महशुस भयो ।

ढोरपाटन उपत्यकाको दृश्य आँखाको क्यामेराले अन्तरहृदयमा सजाएर मात्रै उनको धित मरेको थिएन । ढोरपाटनको शीरमा रहेको जल्पातालसम्म पुगेर अझै धेरै दृश्यहरु दिल दिमागमा सजाउनु थियो उनलाई ।

झरी रोकिने सुरमा थिएन । झरीले निर्मलाको पदचाप रोक्ने सुरसार गरेन । झोका बोकेर फिरन्तेहरुको समूहमा निर्मलाको पदचाप जल्पातालको उकालोतर्फ लम्कियो । खोलाको कलकल धून, कुँईरोको लुकामारी, वतासको धून, थरीथरीका बुकीफूलसँग रम्दै पाँखाथर, गर्पाछेडा, फुस्रेदेउराली, टिकाधारा, फागुनेधूरी हँदै तेस्रो दिन उनी जल्पातालमा पुगिन् । जल्पाताललाई बागलुङको ढोरपाटन नगरपालिका–९ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ मा दाबी गर्ने गरिन्छ ।

सुरम्य लाली पोतेर मधुमासमा मस्त जल्पातालले उनलाई मोहनी लगायो । यात्राको थकान जल्पातालको एकै झलकले हराइदियो । जल्पातालको दृश्य मनैभरी, आँखैरभरी सजाउदै ओरालो लागिन् । बुकीपाटन उक्लेको तेस्रो दिनको आधा रातमा उनी ढोरपाटनको पाखाथरमा ओर्लिन् ।

आँखामै नअटाउने बुकीपाटन, बुकीपाटनमा फुलेका थरीथरीका बुकीफूल, मनको रहरभन्दा अग्ला पहाड, भेडाका बथान, भेडीगाठालेको जीवन र सरलता उनको मगजमा गहिरो डोब बनेर बसेका छन् ।

‘ढोरपाटन र बुकीपाटनका मनमोहक दृश्यहरु मेरो अन्तर्मनको पर्दामा सधैँ कोरिएर बसिरहने छन् । मेरो लागि ढोरपाटन यात्रा मन, शरिर, आत्म र प्रकृतिको अस्तित्व आत्मबोध गर्ने माध्यम बन्यो’, बुकीपाटन यात्राको वर्णन गर्दै उनी भन्छिन्, ‘स्वर्गको टुक्रा कतै छ भने ढोरपाटनको शीरमा रहेका बुकीपाटनहरु हुन् । जुन मनले मात्र महसुस गर्न सक्छ । हजार शब्द खर्च गरेर पनि ती पाटनहरुको वर्णन अधुरो नै हुन्छ ।’

निर्मलाको जस्तै अनुभव छ तनहुँ आँबुखैरेनीकी रिना गुरुङको । बर्खाको झरीको वास्तै नगरीकन उनलाई ढोरपाटनका बुकीफूलले सुगन्धले लठ्ठयाएर डाक्यो । दुई दिनको यात्रामा बल्लतल्ल ढोरपाटन पुगेकी उनी तीन दिनसम्म ढोरपाटन को सिरानमा मास्तिरको बुकीपाटनहरुमा हराइन् ।

झरीमा रुझ्दैभिज्दैं कहिले गोठस्टे त कहिले टेन्टमा रात कटाएर लमतन्न परेर फूलैफूलेको बगैंचामा सजिएका पाटनको रसस्वादनमा मग्न हुदाँ दिन वितेको पत्तै नभएको उनी बताउँछिन् । हिलोमा साँघुरा गोरोटे छिचोल्दै गरेको पदयात्रा अद्भूत लागेको उनको भनाइ छ ।

पदयात्रामा दुखेका पैताला, चिप्लो बाटोमा लडेर लागेको चोट, बाटो बिराएर रुमल्लिएको क्षणलाई त प्रकृतिले उपहार दिएको दृश्यले बिर्साइदियो । ‘यात्रा एकदम कठिन थियो । तर, यात्रामा देखिएको हिमाल, बुकीफूलहरु, डाँडा, तालको दृश्य हेरेर सबै दुखकष्ट बिर्सायो’, गुरुङ भन्छिन्, ‘यात्रा त निकै यादगार भयो । ठाउँ त घुम्नैपर्ने रहेछ ।’

पदयात्रामा रहर जाग्ने उनलाई ढोरपाटनको फाँटमा फूलैफूलको बीचमा चरेका घोडाको दृश्यले ढोरपाटनसम्म तानेको बताइन् । त्यो भन्दा मनमोहक दृश्य त फाँटबाट उकालो चढेपछि देख्न पाएको उनले सुनाइन् । ‘ढोरपाटनको सुन्दरता त फाँटमा भन्दा माथि बुकीपाटनमा उक्लिएपछि देख्न पाइदो रहेछ’, रिनाको अनुभवले भन्छ ।

बर्खाको बेला हरिया बुकीपाटनमा थरीथरीका फूलहरु ढकमक्क छन् । अग्ला पहाडलाई फन्को मार्दै कुहिरों लुकामारी गर्छ । बतासले साउती मार्दा कर्णप्रिय संगीत निस्कन्छ । बर्खा लागेपछि उक्लिएका भेडाका बथान पाटनभरी छिरोल्लिदा प्रकृति रोमाञ्चक बन्छ । फूलैफूलको बगानमा चर्ने भैंसी र घोडाको दृश्यले गोठालाको मन भरिन्छ ।

बुकीफूल र पाटनका दृश्यले मगमग वासना छरेपछि बुकीपाटनमा आन्तरिक पर्यटकको लस्कर उक्लिरहेका छन् । बर्खा लागेपछि बेशीबाट भेडीगोठ पाटनतिर उकाल्ने पुस्तौंदेखि चलन हो । बुकीपाटनको पोषिलो घाँसले वस्तुभाउ पुष्टिने भएकाले पाटनतिर बर्खा बिताएर दशैं मनाउन भेडीगोठालाहरु ढोरपाटन ओर्लन्छन् ।

दहखर्क, गार्पाछेडा, फुस्रेदेउराली, टीकाधारा, फागुनेधूरी हुदैँ जल्पातालसम्मको बुकीपाटनमा बागलुङसहित रुकुमपूर्व, म्याग्दी र डोल्पाका गोठलाको मात्रै पाइला पर्थो । पछिल्लो दुई वर्षदेखि आन्तरिक पर्यटकको पदचापले पनि यहाँको पाटन र प्रकृतिलाई स्पर्श गरिरहेको छ ।

असार, साउन र भदौ महिना पाटनमा बुकी फूलले ढकमक्क हुदाँ पर्यटकको आगमन बढेको ढोरपाटन पर्यटन प्रबद्र्धन विकास संस्थाका सचिव जीवन पुनले बताए । ‘ढोरपाटन आउने दोस्रो दिन बुकी पुगेर फर्कने पर्यटकहरु धेरै छन्‌’, उनी भन्छन्, ‘विहानपख सूर्योदयसँगै देखिने हिमाल र खुलेका पाटन हेर्दा मनमोहक देखिन्छ ।’ उनका अनुसार अधिकांश पर्यटक गर्पाछेडासम्म मात्रै पुग्छन् । केही गर्पाछेडाबाट फुस्रेदेउराली, टिकाधारा हुदै फागुनेको धूरीहुँदै ढोरपाटन ओर्लन्छन् ।

जल्पातालसम्म पुग्ने पर्यटक न्युन रहेको पुनले बताए । जल्पातालको प्रबद्र्धन नहुदाँ त्यहाँसम्म पुग्ने पर्यटकको संख्या बढ्न नसकेको उनको ठम्याइ छ । ‘हिजो पर्यटक ढोरपाटनसम्म मात्रै आएर फर्कने चलन थियो । पछिल्लो समयमा जलजला पठायौं । अहिले पर्यटकलाई बुकी पठाइरहेका छौं’, उनी भन्छन्, ‘अहिले जल्पाताल पनि ढोरपाटनको शीरमा छ भनेर प्रबद्र्धन थालेका छौं । अब जल्पातालले पर्यटक बढाउछ ।’

पाँखाथरबाट जल्पाताल पुगेर फर्कनलाई कम्तीमा तीन दिनको पदयात्रा तय गर्नुपर्छ । पहिलो दिन पाँखाथरबाट गर्पाछेडा पुगेर बास बस्न सकिन्छ । गर्पामा पर्यटकको संख्या बढेसँगै दुईवटा गोठस्टे खुलेका छन् । त्यहाँबाट माथि उक्लेपछि भने भेठीगोठबाहेक विकल्प छैन । सञ्चार सेवा नुपुगेकाले भेडीगोठालसँग सम्पर्क हुन नसक्ने कारण रात विताउने बन्दोवस्तीका सामग्री आफैंले लैजानुको विकल्प छैन । दोस्रो दिन गर्पाछेडाबाट फुस्रेदेउराली, टिकाधारा घुम्दै फागुनेधूरीमा बास बस्न सकिन्छ । तेस्रो दिन फागुनेधूरीबाट कम्तिमा ४ दिन उकालो हिँडेर जल्पाताल पुगिन्छ । त्यही दिन जल्पाबाट फागुनधूरी फर्किएर ठूलोमारी, सानोमारी, जौलेबिसौना, भुजी, स्यालपाखे हुँदै ढोरपाटन फर्कदा निकै हिँड्नुपर्छ ।

ढोरपाटनको शीरैमा रहेका बुकीपाटन र जल्पातालको सेरोफेरो निकै उत्कृष्ट गन्तव्य भएपनि पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औल्याउँछन् ट्रेकिङ गाइड विजय तामाङ । ‘सोंचेको भन्दापनि उत्कृष्ट गन्तव्य छ । तर, पूर्वाधार विकास गर्नुपर्ने छ’, उनी भन्छन्, ‘ठाउँ–ठाउँमा एरो, साइनबोर्डहरु राखिएन भने पर्यटक हराउने सम्भावना देखियो । बीच बीचमा टिसप, गोठस्टे भइदिए कम फोहोर हुनेथियो ।’ बाटैभर चाउचाउ, बिस्कुट, चक्लेट, पेय पदार्थको खोलले फोहोर बढाएको उनले सुनाए ।

पर्यटक बढेपछि पर्यटनकर्मीलाई ढोरपाटनको सुन्दरता नासिनेमा चिन्ता बढाएको छ । एकातर्फ जलवायु परिवर्तनको असर त छदैछ ढोरपाटनको सुन्दरताले लोभ्याएर पुगेका पर्यटकको हर्कतले पनि ढोरपाटन कसरी दुरुस्तै राख्ने चिन्ता बढाएको हो । पर्यटकमाझ सचेतना जगाउनलाई साउन दोस्रो साता पाखाथरदेखि जल्पातालसम्म पदयात्रा गरिएको छ ।

ढोरपाटनको प्राकृतिक विविधतालाई दुरुस्तै जोगाइराख्ने चुनौती पनि थपिएपछि सचेतना फैलाउनुपरेको गिफ्ट ढोरपाटनकी अध्यक्ष रमिता पुनमगरले बताइन् । पर्यटकको चापसँगै प्लाष्टिकजन्य फोहोर बढेको उनको भनाइ छ । ‘जलवायु परिवर्तन र पर्यटकका गतिविधबाट जोगाएर भावि पुस्तालाई ढोरपाटन दुरुस्तै हस्तान्तरण गर्नुपर्नेछ’, उनले भनिन् ।

पर्यटकमाझ सचेतना फैलाउन पर्यटककै सहारा लिएको पुनले बताइन् । ‘वातावरणसँगै यहाँको जैविक विविधता संरक्षणमा पर्यटक र स्थानीय एकजुट हुनुपर्नेछ’, उनको भनाइ छ ।

थप तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?