
काठमाडौँ – कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी सुरू हुन्थ्याे । चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो। हरियो रङका लागि सिमी, कत्थक रङका लागि विशेष काठ, रातो रङका लागि पवईं साग। कालो रङका लागि त सुकेको लौका आगोमा डढाउनुपथ्र्यो।
थारू समुदायमा विशेषगरी हरियो, कालो, सेतो र रातो रङको प्रयोग हुन्छ। अष्टिम्कीमा पनि यिनै रङ प्रयोगमा आउँछन्। दुःख गरेर सङ्कलन गरिएका प्राकृतिक रङलाई हातैले घरका भित्तामा अष्टिम्की चित्र बनाएर उनीहरू अष्टिम्की पर्व मनाउँथे। तर, अहिले यसको मौलिकता हराएको छ। प्रिन्ट गरिएका अष्टिम्कीका चित्र टाँसेर पूजा गर्ने चलन हाबी भएको छ। यसले अष्टिम्की चित्रकलाको मौलिकपन नै हराउँदै जानेमा विज्ञहरू चिन्तित छन्।
हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन खास गरी पश्चिमा थारू समुदायले ‘अष्टिम्की पर्व’ मनाउने गर्छन्। यो पश्चिमा थारूको मौलिक पर्व हो। यो दिन अष्टिम्की चित्र बनाएर व्रतालु महिलाले पूजा गर्ने चलन छ।
मिथिला चित्रकलासँग मिल्दोजुल्दो अष्टिम्की चित्र व्यावसायिक बन्न त परै जाओस् घरका भित्ताहरूमा पनि देखिन छाडेको छ।
अष्टिम्की चित्रको महत्त्व
अष्टिम्की गीतको पुस्तक प्रकाशन गरिसकेका शत्रुघन चौधरीका अनुसार अष्टिम्की थारूहरूको विभिन्न प्रदर्शनकारी सौन्दर्य कलामध्ये एक हो, जुन प्राकृतिक सौन्दर्य र जीवको गहिरो सम्बन्ध रहेको चित्रकलामार्फत व्यक्त हुन्छ। अष्टिम्कीका दिन बिहानै नुवाइधुवाइ गरी निराहार व्रत बसी महिला–पुरुषहरू घरको बहरी (पिँढी) को उत्तरतर्फको भित्तामा हस्तचित्र बनाउने गर्छन्, जहाँ मानवकृति र प्राकृतिक स्वरूप बनाइएका हुन्छन्”, उनी भन्छन्, “सृष्टिको कथादेखि पशुपन्छी, जीवजन्तुको चित्र बनाइएको हुन्छ। यसले थारूहरूको जीवनशैली र जीवजीविकाको सम्बन्ध देखाउँछ।”
अष्टिम्कीबारे विद्यावारिधि गरेका थारू संस्कृतिविद् डा कृष्णराज सर्वहारीका अनुसार, अष्टिम्की चित्रकला एक कला मात्र होइन, समग्र थारू समुदायको उत्पत्ति, जीवनशैली, दर्शन र संस्कृतिको प्रतिरूप हो। उनी भन्छन्, “अष्टिम्कीको गीत गाउँदै अष्टिम्की चित्र बनाइन्छ। गीतमा भनिएको कुरा चित्रमा झल्किन्छ। चित्रमा सूर्य र चन्द्रको उपस्थितिले थारूहरू प्रकृतिपूजक रहेको प्रस्ट बुझिन्छ।”
डा। सर्वहारीका अनुसार, अष्टिम्की चित्रकलामा ब्रह्माण्ड सृष्टिसँग जोडिएका सबै पक्ष समावेश हुन्छन्। थारुहरूको कृषिकर्म हलो जोतेको, डोलीमा बेहुला–बेहुली बसेको, घना जङ्गल, पशुपन्छी आदि सबैले थारु जनजीवनको विविध पाटोलाई चित्रमार्फत उजागर गर्छन्। यी चित्र भित्तामा डेहरी (भकारी) मा बनाइन्छन् र साँझपख पूजाअर्चनापछि मात्र फलफूल खाने गरिन्छ।
असारको पहिलो साता सार्वजनिक भएको पुस्तक ‘बुढनी’ को आवरणमा पनि अष्टिम्की कला झल्कन्छ। यसका लेखक इन्दु थारु अष्टिम्की चित्रकला थारु समुदायका पुर्खाले पहिलेदेखि नै बनाउँदै आएकाले पुस्तकमा मौलिक कलालाई स्थान दिएको बताउँछन्।
“थारु समुदायमा चित्र बनाउने आफ्नै शैली छ। बाघ, मयूर होस् वा अन्य जनावर र पन्छी। ज्यामितीय आकारमा बनाइएका यी चित्र हेर्दा स्पष्ट हुन्छ कि यो थारुहरूको कला हो। यो बनाउने तरिका पनि विशिष्ट छ”, उनी भन्छन्। अष्टिम्की चित्र हेर्नेबित्तिकै थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिने अनुभूति आफूलाई हुने उनको भनाइ छ।
अष्टिम्की चित्रकला प्रवर्द्धनमा स्थानीय तह
संस्कृति जगेर्ना र थारु लोकचित्रकलाको प्रवर्द्धनमा स्थानीय तहले आ–आफ्नो तर्फबाट पहल गरिरहेका छन्। थारु बहुल क्षेत्रका पालिकाहरूमा अष्टिम्की चित्रकलाको प्रवर्द्धन गर्न कार्यशाला, प्रतियोगिता, गोष्ठीहरू सञ्चालन भइरहेका छन्।
बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो पालिकामा लागू गरेको स्थानीय पुस्तक ‘बारबर्दिया गौरव’मा अष्टिम्कीबारे पाठ राखेको छ। यसका साथै, त्यहाँ अष्टिम्कीको अवसरमा कक्षा ४ देखिमाथिका विद्यार्थीलाई अष्टिम्की चित्र बनाउने अभ्यास पनि गराइन्छ। ‘बारबर्दिया गौरव’ पुस्तकका लेखकमध्ये एक नरेशलाल कुसुम्याका अनुसार पाठ्यक्रम, कार्यशालालगायत विभिन्न प्रयासले यो चित्रकलालाई दिगो बनाउन र प्रवर्द्धन गर्न सकिन्छ।
यसै साता काठमाडौँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अग्रासन थारु महिला समाजको सहकार्यमा थारु अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरियो। जसमा काठमाडौँवासी थारु युवाले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कैलालीको जानकी गाउँपालिकाले त आफ्नो कार्यालय भवन कक्ष अष्टिम्की चित्रकलाले सुसज्जित बनाएको छ। मौलिक हस्तकला चित्रले पालिकाकै शोभा बढाएको छ। पालिकाले बर्सेनि अष्टिम्कीको सेरोफेरोमा अष्टिम्की चित्रकला कार्यशाला तथा प्रतियोगिता आयोजना गर्छ। साथै पालिकाले लोककलाको हब भनेर नै घोषणा गरेको छ।
थारु परम्परालाई जगेर्ना गर्न प्रत्येक वर्ष अष्टिम्कीका अवसरमा कार्यशाला सञ्चालन गर्दै आएको बताउँछन्, जानकी गाउँपालिका, कैलालीका अध्यक्ष गणेश चौधरी। “पुराना पुस्ताबाट प्राप्त सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले अष्टिम्की चित्रकला बनाउने परम्परालाई जोगाउन कार्यशाला गर्दै आएका छौँ”, उनी भन्छन्, “कार्यशालामा सहभागीलाई भित्तेचित्र कसरी बनाउने, यसको महत्त्व के छ भन्नेबारेमा सिकाइन्छ।”
जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा चित्रमा रङको संयोजन कसरी गर्ने, थारु सीप र परम्परासँग कसरी जोड्ने भन्ने विषयमा काम गर्दै आएको छ। अध्यक्ष चौधरीका अनुसार थारु समुदायको अष्टिम्की चित्रकलामा संरक्षण र व्यवसायीकरणको पहलको आवश्यकता छ। चित्रकलालाई भविष्यमा कसरी बजारीकरण गर्ने भन्ने विषयमा योजना बनाइरहेको उनले सुनाए। मिथिला चित्रकलाजस्तै अष्टिम्कीले पनि बजार पाओस् भन्ने चाहना रहेको उनको भनाइ छ।
यसका लागि गाउँपालिकाले अष्टिम्की चित्रकलालाई बेलाबेलामा प्रदर्शनीमा राख्ने र आगामी दिनमा कोसेली घर स्थापना गरेर बिक्री गर्ने सोच बनाएको छ।
यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिकाअन्तर्गत ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले पनि यस वर्ष तीनदिने अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरेको छ। दुई दर्जन सहभागीले प्रशिक्षकहरूबाट सुन्दर अष्टिम्की चित्र बनाएका छन्। यसलाई अरु वर्ष पनि निरन्तरता दिइने प्रतिष्ठानका सचिव खगेन्द्र नेपाल बताउँछन्।
बर्दियाको बारबर्दिया नगरपालिकाले थारु लोककला अष्टिम्की जोगाउन तथा यसलाई व्यापकता दिन यस वर्ष पालिकास्तरीय अष्टिम्की टिक्ना (पूजा गर्ने) कार्यक्रम गरेको छ। यसका साथै, नगरपालिकाले अतिरिक्त क्रियाकलापअन्र्तगत परम्परागत सीप हस्तान्तरणसँग सम्बन्धित विभिन्न कार्यक्रम विद्यालयहरूमा गर्दै आएको छ। नगरपालिकाका प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले परम्परागत सीपलाई जोगाउने उद्देश्यले अष्टिम्की चित्रकला, डुना, टपरी, ढकिया बनाउनेलगायत कार्य विद्यालयलले शैक्षिक क्यालेन्डरमै समावेश गरेको बताए। आगामी दिनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अष्टिम्की कार्यशाला गर्ने योजना रहेको उनको भनाइ छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अष्टिम्की चित्रकला जोगाउन र प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले संस्कृति र परम्परा जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए। “यसको संरक्षणका लागि सम्बन्धित समुदायभित्र पुस्तान्तरण हुन आवश्यक छ”, उनले भने, “यही आवश्यकतालाई मध्यनजर गर्दै प्रतिष्ठानले झकझक्याउने ठाउँमा जति सम्भव हुन्छ, सहकार्यको प्रयास बढाइरहेको छ।”
अष्टिम्की चित्रकला कार्यशालमा प्रतिष्ठानले गरेको सहजीकरणको प्रभाव राम्रो देखिएको उनको अनुभव छ। “लोककलाको बजारीकरण र दीगो विकासका सम्भावनालाई ध्यानमा राख्दै काम सुरू गरिएको छ। यस्ता कार्यक्रमले थारु समुदायको मौलिक शैली, लोककथा, अष्टिम्की चित्र तथा अन्य लोकचित्रकलालाई जनजीवन र सामाजिक रूपान्तरणसँग जोड्ने प्रयास गरेका छन्”, उनले भने।
प्रशिक्षण कार्यक्रममार्फत स्थानीय कलाकार तथा नयाँ पुस्तालाई थारु चित्रकलाको महत्त्व र सीप हस्तान्तरण गरिँदै आएको छ। यसबाट राम्रो प्रभाव र सम्भावना देखिएको काफ्ले बताउँछन्। उनीका अनुसार, लोकचित्रकलाको मौलिकता जोगाउँदै पुस्तान्तरण र दीगो विकासका लागि आम्दानीको स्रोतका रूपमा कसरी विकास गर्ने भन्नेबारे सोच बनाउन आवश्यक छ।
अष्टिम्की चित्रकलामा थारुहरूको जीवनदर्शन स्पष्ट झल्किन्छ। थारु लोककला बाँचेको छ। यद्यपि, नयाँ पुस्तालाई यसको महत्त्व अझै पनि बुझाउन सकिएको छैन। चित्र बनाएर आम्दानी गर्न सकिन्छ भन्ने सोचको अभावले पनि यसले व्यवसायीकरणको बाटो लिन नसकेको कलाकार मित्थु थारु बताउँछन्। उनले अष्टिम्की कलामै धेरै पुरस्कार प्राप्त गरिसकेका छन्।
‘पहिले ट सिरिजल जल थल धरती, डुसरे ट सिरिजल कुश कइ डाभ’ यही श्लोकबाट अष्टिम्की गीतको सुरूआत हुन्छ। अर्थात् पहिले पृथ्वी जलैजल थियो, पछि स्थल बन्यो। कुश भन्ने वनस्पतिको पहिलो सृष्टि भयो। यसरी सृष्टिको सिर्जनाको कथाबाट अष्टिम्की गीतको प्रारम्भ भएको छ।
सर्वहारी अष्टिम्की चित्रलाई अष्टिम्कीको अवसरमा मात्र सीमित नराखी अन्य समय पनि अभ्यासमा ल्याउन सकिए थारु कलाकारलाई अगाडि बढ्न अवसर मिल्ने बताउँछन्। प्रवर्द्धनमा सबैले आफ्नो स्थानबाट साथ दिए लोककला लोप हुन सक्ने खतराबाट जोगिने उनको भनाइ छ।
संस्कृति बचाउने मनसायले मात्रै होइन, यसलाई आर्थिक अवसरमा परिणत गर्न पनि जरुरी छ। जसरी मिथिला चित्रकलाले विश्वमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ, अष्टिम्की कला भने घरकै भित्ता र पोस्टरमा सीमित हुन पुगेका छन्। यसको प्रवर्द्धनका लागि प्रचार–प्रसार, कार्यक्रम, प्रदर्शनी, अभियान तथा कार्यशालामार्फत नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्नमा भने ढिला भइसकेको छ। – बुनु थारू/रासस