नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले याे वर्ष १० देखि १५ लाख किलाेसम्म आलु बेच्ने भएकाे छ ।
व्यवसायी विनाेद चाैधरीलाई २ लाख किलाे आलु बेचेर चर्चामा आएको नेपाल कम्युनिष्ट पार्टी अब एकै पटक १० देखि १५ लाख किलाे आलु बेच्ने गरी उत्पादनमा लागेकाे छ ।
नेपालगन्ज उद्याेग वाणिज्य संघले आइतबार नेपालगन्जमा आयोजना गरेकाे नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसँग उत्पादनमुलक व्यवसाय विषयक छलफल कार्यक्रममा विप्लवले यो जानकारी दिएका हुन्।
‘विनाेदजीले वर्षमा ३१ लाख किलाे आलु विदेशबाट किन्नु हुँदाेरहेछ। हामीले २ लाख किलाे बेच्याैँ। अब १० देखि १५ लाख किलाे दिन्छाैँ,’ महासचिव विप्लवले भने, ‘अहिले हामी कृषि उत्पादनमा लागेका छाैँ। बिस्तारै उद्योग र व्यापारमा पनि लाग्छाैँ।’
महासचिव विप्लवले नेपालमा राजनीतिक क्रान्ति र परिवर्तन भएपनि आर्थिक परिवर्तन हुन नसकेकाे बताए। उनले पार्टीहरुलाई चन्दा माग्नबाट मुक्त गर्न जरुरी रहेकाे बताए।
‘सत्तामा गए कमिसन अनि बाहिर रहे चन्दा मागेर चलाउने परिपाटीकाे अन्त्य हुनुपर्छ,’ विप्लवले भने, ‘हाम्राे पार्टी अहिले चन्दामुक्त भएकाे छ । जुनसुकै जिल्लामा गएपनि खान र बस्नलाई समस्या छैन ।’
पार्टीको कार्यक्रममा सुर्खेत गएर आएका विप्लवले नेपालगन्ज-दिल्ली हवाई उडानकाे पहल गरिरहेकाे संघकाे काममा आफ्नोतर्फबाट सहयाेग नै हुने बताए ।
संघका महासचिव भीमबहादुर रानाभाटले सञ्चालन गरेकाे कार्यक्रममा अध्यक्ष टंकबहादुर धामी, पूर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्यले अब नेपालका राजनीतिक दल उत्पादनमा लाग्नु पर्ने बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































