 
                            धनगढी- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताबाट प्रभावित केही व्यक्तिहरूले मन्त्री परिवर्तनको हल्ला फैलाइरहेको बताएका छन्। उनले समय आए मन्त्री परिवर्तन हुन सक्ने भए पनि अहिले भइरहेको चर्चालाई केवल ‘हल्ला’ को संज्ञा दिए।
सोमबार कैलालीको अत्तरियामा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, “मिडियामा समाचार बेच्ने र अस्थिरताबाट ग्रसित व्यक्तिहरूले मन्त्री परिवर्तनको हल्ला फैलाइरहेका छन्। यो अस्थिर मानसिकताको उपज हो।” उनले गठबन्धन दलहरूबीचको सहमतिमा समयअनुसार मन्त्री परिवर्तन हुन सक्ने स्पष्ट पारे।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा ठूला दलप्रति जनताको विश्वास घटेको र पार्टीहरूको संख्यामा गिरावट आएको भन्ने गलत प्रचार भइरहेको दाबी गरे। उनले तथ्यांकमा आधारित भएर बोल्न र लेख्न आग्रह गर्दै भने, “नेकपा एमालेको सदस्यता पछिल्लो पटक २८ प्रतिशतले वृद्धि भएको छ। यसले के संकेत गर्छ?”
उनले मुलुकको अस्थिरतालाई विकासको मुख्य बाधकको रूपमा व्याख्या गर्दै, ‘मिशन ०८४’ अन्तर्गत एमालेले एकल नेतृत्वको दिशामा गतिविधि अघि बढाएको जानकारी दिए।
“वर्तमान सरकार विशेष उद्देश्यसहित बनेको हो,” पोखरेलले भने, “राजनीतिक स्थायित्व, सुशासन र अर्थतन्त्रलाई पुनः लयमा फर्काउने मुख्य एजेन्डा हुन्, र सरकारले यही कुरामा ध्यान केन्द्रित गरिरहेको छ।”
संविधान संशोधनको सन्दर्भमा वातावरण अझै तयार नभएको बताउँदै उनले भने, “राष्ट्रिय सभामा बहुमत नहुँदा समस्या भइरहेको छ। अबको ५-६ महिनापछि कांग्रेस र एमाले मिलेर राष्ट्रिय सभामा बहुमत सुनिश्चित गर्नेछौं, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्नेछ।”
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले प्रवेश गराउने चर्चा सम्बन्धमा पोखरेलले पार्टीले उनलाई रोक्नुको कारण व्यक्तिगत नभई संस्थागत गरिमा जोगाउन भएको स्पष्ट पारे। “विद्यादेवी भण्डारी व्यक्ति मात्र होइन, संस्था पनि हुनुहुन्छ। गणतन्त्र बलियो बनाउन यसका प्रतीकहरूलाई सम्मान गर्नुपर्छ। उहाँ पार्टीभन्दा माथि हुनुहुन्छ, यसबारे बहस आवश्यक छैन,” पोखरेलले भने। उनले माओवादीले पूर्व राष्ट्रपति पार्टीमा प्रवेश गराएर गल्ती गरेको उल्लेख गर्दै त्यस्तो गल्ती एमालेले नगर्ने बताए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































