 
                            धनगढी – कैलालीकाे गेटामा रहेकाे सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको माग गरिएको छ।
गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सङ्घर्ष समितिले माग गरेको हो।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई सोमबार ज्ञापनपत्र बुझाउँदै पदाधिकारी नियुक्ति र विश्वविद्यालय सभाको गठनमा पहल गर्न आग्रह गरेका छ।
विश्वविद्यालय सञ्चालनको विधेयक सर्वसम्मत रूपमा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण र राजपत्रमा प्रकाशन भइसकेको छ। तर, ऐन कार्यान्वयनमा आइसके पनि हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढेको छैन।
तीन महिनाभित्रमा सभा गठन र बैठक बस्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको संघर्ष समितिका संयाेजक लाेकराज पाण्डेकाे आरोप छ।
उनले चालु आर्थिक वर्षमा नै चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि भौतिक संरचनाहरू तयार भए पनि प्रारम्भिक रूपमा तीन सय शय्यामा अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाउन विशेष पहल गर्न पनि मुख्यमन्त्री शाहलाई आग्रह गरिएकाे बताए।
ज्ञापनपत्रमा भनिएको छ, ‘विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको अवस्थामा हालसम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। कुलपति सम्माननीय प्रधानमन्त्री, सह–कुलपति शिक्षामन्त्री तथा अन्य पदेन सदस्यहरू रहने व्यवस्था भएको यस विश्वविद्यालय सभामा माननीय मुख्यमन्त्री स्वयं पनि पदेन सदस्य रहने भएकाले उहाँको विशेष ध्यानाकर्षण गराउन चाहन्छौँ।’
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले प्रक्रिया अघि बढाउन जटिलता देखिएको भए पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































