
काठमाडौँ – नेकपा एमालेले काठमाडौँ बाहिर रहेका आफ्ना पार्टीका सांसदहरूलाई बुधबारसम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई भोलि दिउँसो १ बजेभित्र काठमाडौँ आइपुग्न निर्देशन दिएका हुन्। सांसदहरूलाई केही दिन काठमाडौँ नछाड्न पनि भनिएको छ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरिरहेका छन्। त्यसका लागि दुई दलले आफ्ना सांसदहरूलाई हस्ताक्षर गराइरहेका छन्।
आचारण विपरीतको कार्य गरेको भन्दै उपसभामुख रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ।
यसअघि पनि रानालाई हटाउने तयारी भएको थियो। तर, विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन।