
काठमाडौँ – सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी, नेपाल आन्दोलित बनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमार्फत षड्यन्त्रपूर्वक उपेन्द्र यादवमाथि गौर हत्याकाण्डको आरोप लगाएको भन्दै जसपा, नेपालका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।
समाजवादी विद्यार्थी युनियन, नेपालको आयोजनामा मंगलबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले जसपा, नेपालले सरकारले ल्याएको भूमि विधेयकलाई समर्थन नगरेपछि उपेन्द्र यादवविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन्। गौर हत्याकाण्डमा तत्कालीन माओवादी नेता प्रभू साहको हात रहेको उनीहरूको आरोप छ।
२०६३ साल चैत ७ गते गौरस्थित राइस मिलमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टाछुट्टै सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो।