काठमाडौँ– उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्ता पक्षीय कांग्रेस-एमालेले फेरि हस्ताक्षर गरेका छन्। मंगलबार आकस्मिक रुपमा आफ्ना सांसदलाई बोलाएर कांग्रेस र एमालेले मगरलाई हटाउने उद्देश्यका साथ आचरणविरुद्धको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएका छन्।
दिउँसो प्रस्ताव दर्ता गर्ने उद्देश्यका साथ सांसदहरुलाई संसदीय दलको कार्यालयमा १२ बजेसम्म आइपुग्न भनेका र भनेअनुसार सांसदहरुले हस्ताक्षर गरे पनि मंगलबार नै प्रस्ताव दर्ता हुन सकेन। कारण देखाइयो, उपसभामुख मगर अमेरिका भ्रमणमा रहेकाले केही दिन कुर्ने।
साउन ३० गते अमेरिका गएकी मगर भदौ १३ गते मात्रै स्वदेश फर्किने छिन्। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार अब उनीविरुद्ध कम्तीमा भदौ १३ अघि संसदमा आचरणको प्रस्ताव दर्ता हुने छैन।
अमेरिका प्रस्थान गर्नुअघि मगरले सभामुख देवराज घिमिरेलाई भ्रमणबारे जानकारी दिँदै बिदा मागेकी थिइन्। स्रोतका अनुसार सभामुखसँग मगरको बिदाइ भेट सौहाद्रपूर्ण हुन सकेको थिएन। भित्रभित्रै सत्ता पक्षले हटाउने तयारी गरिरहेको जानकारी पाएर हुन सक्छ, सभामुख घिमिरेले उनलाई व्यंग्य गर्दै भनेका थिए, ‘ए, अब तपाईं त उतै (अमेरिका) बस्ने त होला नि।’
त्यस दिनको भेटमा सभामुख घिमिरे आफूसँग खुलेर समेत नबोलेको गुनासो मगरले आफू निकटका व्यक्तिहरुसँग गरेकी थिइन्। घिमिरे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अति विश्वासपात्र हुन्।
अध्यागमन विभागबाट भिजिट भिसामा दैनिक ५० लाखसम्म संकलन गरेर मानिस पठाएको सार्वजनिक भएपछि रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकमाथि निष्पक्ष छानबिनको माग गर्दै निरन्तर संसदमा आन्दोलन गर्दै आएका छन्।
रास्वपाले साढे दुई महिना हुन लाग्दासमेत आन्दोलन नछाडेपछि कांग्रेस-एमालेले जवाफ स्वरुप भिजिट भिसामै मुछिएकी उपसभामुखलाई पदबाट हटाउने तयारी ठोस रुपमा अघि बढाएका हुन्।
उपसभामुखमा निर्वाचित भए लगत्तै मगरले पाँच जनालाई अमेरिकी भिसा दिलाइदिन दूतावासलाई लेखेको पत्रलाई आधार बनाउँदै सत्ता पक्षले रास्वपाबाट उपसभामुख भएकी मगरलाई हटाउन जोडबल गरेका हुन्।
२०७९ फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा भाग लिन जाने तयारीमा रहेका चार पुरुष र एक महिनाको अन्तर्वार्ता छिटो गरिदिन उनले अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।
उपसभामुखको लेटरप्याडमा सिफारिस गरेको थाहा पाएपछि कांग्रेस-एमाले उनलाई हटाउन छलफलमा जुट्दै आएका छन्। संवैधानिक परिषदमा उपसभामुख समेत हुने भएकाले त्यसको अंकगणित आफू अनुकुल बनाउन मगरलाई पदमुक्त गरेर कांग्रेसबाट उपसभामुख बनाउने तयारीमा सत्ता गठबन्धन जुटेका छन्।
२०८१ भदौ अन्तिम साता पनि कांग्रेस एमालेले आफ्ना सांसदलाई हस्ताक्षर गराउँदै मगरलाई राजीनामा दिन दबाब दिएका थिए। कांग्रेस-एमालेले दबाबका बाबजुद राजीनामा नदिए पनि उनीविरुद्ध आचरणको प्रस्ताव दर्ता गरिएन। दुवै दलले असोज ३ गतेसम्म उपत्यका नछाड्न आफ्ना सांसदलाई त्यो बेला निर्देशन नै दिएका थिए।
केही सांसदको हस्ताक्षर समेत गराइ पनि विषय त्यतिकै सेलायो। तर अहिले रास्वपाले भिजिट भिसा प्रकरणलाई निरन्तर उठाएपछि ‘उनीहरुकै माग पूरा गर्न’ प्रस्ताव अघि बढाउन खोजिएको सत्ता पक्षको दाबी छ।
सोमबार बेलुका बालुवाटारमा भएको कांग्रेस-एमालेको बैठक प्रधानमन्त्री ओलीले फेरि विषय प्रवेश गराउँदै अघि बढ्न निर्देशन दिएपछि हस्ताक्षर गराइएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए। उनले भने, ‘दुई दलको छलफलमा प्रधानमन्त्रीज्यूले कुरा उठाउनुभयो। हाम्रा सभापतिज्यूले पनि अघि बढ्न भनेपछि आज हस्ताक्षर गराइएको हो।’
दुई दलको बैठकमा ओलीले भनेका थिए, ‘उनीहरुले मानव तस्करलाई कारबाही गर भनेर संसद्मा नाराबाजी गरिरहेका छन्। हामीले पूरा गर्नसक्ने माग पूरा गर्नुपर्छ। मानव तस्कर उनीहरुकै पार्टीबाट उपसभामुख भएर बसेका छन्। उनैलाई कारबाही गर भनेको त होला अब प्रक्रिया अघि बढाउनुपर्छ।’
हस्ताक्षर नै संकलन भए पनि विषय अझै छलफलकै क्रममा रहेको एमाले प्रमुख सचेतक महेश बर्तौला बताउँछन्। उनी उपसभामुखको विषयमा सदनमा पटक पटक कुरा उठेकाले त्यसलाई सदनले नै निरुपण गर्नुपर्ने बताए। ‘उहाँका विषयमा संसदमा निरन्तर कुरा उठेको छ। यो सरकारको कुरा होइन। सदनकै कुरा हो, बर्तौलाले अगाडि भने, ‘कुरा उठेपछि सदनले आफ्नो विषयलाई राफसाफ गर्नुपर्छ।’
एमालेले उपत्यकामा भएका सांसदलाई मंगलबार हस्ताक्षर गराए पनि बाहिर भएकालाई बुधबार दिउँसो १ बजेभित्र आइपुग्दन कडा ह्विप जारी गरेको एक सांसदले जानकारी दिए।
उपसभामुख मगरले अमेरिकाबाट देश सञ्चारसँग कुरा गर्दै आफूलाई हटाउन निरन्तर प्रयास भइरहेको जानकारी आफूसँग भएको बताइन्।
उनले भनिन्, ‘यो कुरा भइरहेको थियो। मलाई साथीहरुले पनि भनेका थिए। मैंले आजसम्म विदेश जाँदा कसैलाई पनि लगेको छैन।’ उनले आफूले गल्ती नगरेको समेत उनले दाबी गरिन्। दूतावासमा दर्ता नै नभएको पत्रलाई आधार बनाएर आफूलाई बद्नाम गर्न खोजिएको उनको गुनासो छ।

भर्खरै
लोकप्रिय






































































































































































































