
जनकपुरधाम- वैवाहिक बलात्कारको मुद्दामा धनुषा जिल्ला अदालतले एक पुरुषलाई ६ महिना कैद र रु. १ लाख क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ ।
विवाहको पहिलो सातामै श्रीमतीमाथि जबरजस्ती करणी गरेको ठहर गर्दै न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले यो फैसला गरेको हो।
पीडित महिला र प्रतिवादीबीच २०७९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो। विवाह भएको एक सातापछि वैशाख २१ गते श्रीमानले जबरजस्ती करणी गरेको भन्दै पीडितले केही महिनापछि प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि, २०७९ चैत २१ गते जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएको थियो।
पीडित महिलाले श्रीमानको अन्य महिलासँग सम्बन्ध रहेको कुरा थाहा पाएपछि सोध्दा पटक-पटक डर, त्रास र धम्की दिएर कुटपिट गर्ने गरेको बयान दिएकी थिइन्। उनले २०७९ वैशाख २१ गते राति करिब साढे ९ बजे श्रीमानले छुरा देखाएर आफ्नो मन्जुरीबिना बलजफ्ती करणी गरेको आरोप लगाएकी थिइन्।
आरोपित श्रीमानले भने आफूमाथि लागेको आरोप गलत रहेको दाबी गर्दै श्रीमतीको बयानलाई अस्वीकार गरेका थिए। उनले श्रीमतीलाई जबरजस्ती करणी नगरेको र आपसी सहमतिमा नै पति-पत्नीको सम्बन्ध रहेको बताएका थिए।
उनले घटना भएको भनिएको मितिमा श्रीमतीलाई रक्तस्राव भएपछि उपचारका लागि जनकपुर र भारतको सितामढीसम्म लगेको बयान दिएका थिए। उनले श्रीमती माइती गएपछि मात्रै आफूमाथि झुटा जाहेरी दिएको दाबी गरेका थिए।
दुवै पक्षका वकिलको बहस, पीडित र प्रतिवादीको बयान, चिकित्सकको बकपत्र तथा अन्य प्रमाणको आधारमा न्यायाधीश वर्देवाले प्रतिवादी दोषी ठहर गर्दै यो फैसला सुनाएका हुन्।
अदालतले दुलहीको विवाह भएको छोटो अवधिमै यो घटना भएको, पीडितलाई उपचारका लागि अस्पताल लगिएको र पीडितको उमेर तथा अवस्थालाई समेत मध्यनजर गर्दै यो फैसला गरेको थियो।
यस मुद्दामा कुल ३६ वटा पेसी चढेपछि अन्तिम फैसला आएको हो। अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (४) बमोजिम ६ महिना कैद र दफा २२८ बमोजिम पीडितलाई रु. १ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।