
काठमाडौँ– भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपाल आइपुगेकी छन्। आज (शनिबार) दिउँसो करिब १२:३० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन तीनदिने (भदौ ७ देखि ९ गतेसम्म) नेपाल भ्रमणमा आएकी हुन्।
विमानस्थलबाट उनी सिधै होटल सोल्टीमा जानेछिन्। आजै पराष्ट्रमन्त्री डा. देउवासँग सुआनको भेटवार्ता हुने कार्यतालिका छ।
उनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
सुआनको नेपाल भ्रमण भियतनामको तर्फबाट यो नै पहिलो उच्चस्तरीय भ्रमण हो।
उनी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।