
पोखरा – तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा सेताम्मे भएर ड्रागनफ्रुटका फूल मुस्कुराइरहेका छन्। पाकेका ड्रागन फलमा राताम्मे लाली चढेको छ।
ड्रागनका पारखीहरु माँ अम्बे अलौकिक कृषि फार्ममा फलेका ड्रागन किन्नलाई बगानसम्म ओहोरदोहोर गरिरहन्छन्। फार्ममै पुगेपछि उनीहरुले रोजीछाडी खरिद गर्न पाउँछन्।
फार्मकी सञ्चालिका कल्पना गौली मुस्कुराउँदै काँडाको बीचमा फलेका ड्रागन टिप्छिन्। काँडाले घोच्दा उनलाई दुख्दैन। न त उनी ‘ऐया’ भन्छिन्। मुस्कुराउँदै उनी काँडाले पनि प्रेम गरेको ठान्छिन्।
हरेक दिन लटरम्म फूलेका फलेका काँडे बोटबीच उनी ध्यानमग्न हुन्छिन्। कहिले बोटसँग घण्टौँ गफिन्छिन् त कहिले माटोसँग। बगानभित्रै घण्टौँ रमाएर बिताइदिन्छिन्। किनकि यो ड्रागनफ्रुट खेतीसम्म उनलाई आध्यात्मिक साधनाले डोर्याएर ल्याइपुर्याएको हो।
अध्यात्ममा तल्लिन उनलाई तीन वर्ष पहिले एकान्तमा बसेर साधना गर्ने रहर पलायो। ‘प्रकृतिसँग खेल्दै साधना गर्न पाए त मोक्ष मिल्थ्यो होला’, उनको मनबाट पसेर मडारिन थाल्यो। त्यसपछि उनले साधनाका लागि कृषि कर्म गर्नलाई फार्म दर्ता गराइन्।
ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोंच बनाए पनि उनलाई पानी पर्याप्त नहुने भयो। साथीसँगै ढोडेनीको ९ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर कृषि कर्मको यात्रालाई अझ भरपक्का गरिन्।
कृषि कर्म गर्ने योजनालाई मूर्तरुप दिनेबेलासम्म पनि के लगाउने? के फलाउने? कल्पनाले निर्क्यौल गर्न सकिनन्। च्याउ, फलफूल, मौरी, तरकारीमध्ये कुनै एउटा कृषि कर्मलाई अपनाउने सुर थियो।
संयोगवश कल्पनालाई चितवनमा जानपहिचानका एक किसानको ड्रागनफ्रुट बगान हेर्ने अवसर जुर्यो। ‘ड्रागन राम्रो हुँदोरहेछ। नौलो खेती पनि हो भन्ने लागेपछि फर्केर यो भिरालो जग्गा सम्माउन थालेँ’, उनले ड्रागनको खेती रोज्नुबारे बेलिविस्तार सुनाउन थालिन्, ‘यसको औषधीय गुण पनि राम्रो। जस्तोसुकै बिरामीले खान हुने। बारीमा लगाउँदा राम्रो पनि देखिने। साधना केन्द्र बनिसकेपछि साधकहरु आउनुभयो भने पनि आकर्षक देखिने।’
भारतबाट बेर्ना मगाएर कल्पनाले ७ रोपनी जग्गामा गाँडेको २२५ पोलमा ड्रागन लगाएकी छन्। दुई हजार एक सय बेर्ना ड्रागन लगाएकी हुन्। उनका अनुसार बगानसँगै गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ।
बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ। उनी भन्छिन्, ‘ड्रागन खेतीमा मात्रै ५० लाख रुपैयाँ लगानी हो। अरु संरचनाहरु बनाउन लागेको खर्च भएको छ। यसलाई पूर्णता दिने योजना ३ करोड रुपैयाँको हो।’
गत वर्षदेखि कल्पनाले स्नेहपूर्व हुर्काएका ड्रागन फूलेर फल्न थाले। कल्पनाका अनुसार गत वर्ष फार्मबाट उत्पादित ड्रागनफ्रुट (सिउँडीफल), गिठ्ठा, ,सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी भएको थियो। यसपालि चौंथो छिमलको ड्रागन बजारमा पुर्याउँदा उनको पोल्टामा ८ लाख ५० हजार रुपैयाँ आम्दानी भइसकेको छ।
ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ। भन्छिन्, ‘हामी जहाँ पुग्छौँ त्यहाँ राम्रो बजार पाएका छौँ। बजारमा पनि व्यापारीले हाम्रो स्थानीय उत्पादन किन नबेच्ने भनेर बुझ्नुभएको छ र पहल गर्नुहुन्छ।’
शतप्रतिशत जैविक भएकाले उपभोक्ता फार्ममै खरिद गर्न आउने उनको भनाइ छ। बिक्री भएको ४० प्रतिशत बगानमै आएर उपभोक्ताले लैजाने गौलीले उल्लेख गरिन्। ‘अहिले बजारको त्यति गाह्रो छैन। तर, कुनै कुनै बेला जताततै धेरै फल फल्दा कर गरेर बेचेको जस्तो हुन्छ। साथी आएर किन्दिनुस् न भन्छौँ’, उनले भनिन्।
कल्पनाले ड्रागनका बोटमा रासायनिक मल राखेकी छैनन्। रासायनिक विषादी पनि निषेध छ। जैविक मल र विषादी प्रयोग गर्छिन्। ‘साधना गर्ने मान्छेले बिहान उठेर भवगानलाई अर्पण गर्छु। अर्पण गरेपछि प्रसाद आफैंले खानुपर्यो। म जुन मार्गमा छु त्यो मार्गमा अजैविक प्रयोग गर्न पाइन्छ जस्तो लाग्दैन’, कल्पना आध्यात्मिक हुँदै भन्छिन्, ‘भगवानलाई अर्पण गर्ने बेलामा विषादी भएको फलफूल कसरी दिने? छुट्टै भगवानका लागि रोप्ने कुरा पनि त भएन। सबैलाई बिक्री पनि गर्न रासायनिक विषादीरहित बनाएँ।’
प्रकृति पूजकले माटो, हावा र पानीको पनि ख्यार्ले राख्नुपर्ने उनको तर्क छ। विषादी बढी सेवन गर्दा मान्छे जसरी बिरामी पर्छ माटो पनि त्यसैगरी बिरामी पर्नेमा उनी बडो सचेत छिन्। ‘प्रकृतिलाई विषादीले कति दुखेको होला। तिनको मर्म पनि बुझ्न प्रयत्न गरेँ’, गौली थप्छिन्, ‘प्रकृति, बोटविरुवालाई पनि दुखेको हुन्छ। मात्र हामीले झैं व्यक्त गर्न सक्दैनन्।’
१६ वर्ष शिक्षण र १५ वर्ष बुटिक पेशा गरेपछि कल्पनालाई कृषि कर्मले निकै तान्यो। ड्रागन खेती लगाउनु पहिले उनको पौरखले दमौली बजारस्थित घरको छतमा रहरलाग्दो गरेर तर्लयाङतुर्लुङ तरकारी फलाउँथिन्। कौशीको चौघेरोमा सीमित उनको परिश्रमले दमौली बजारका घरवालालाई कौशीमा तरकारी फलाउने प्रेरणा दिलायो।
पछि उनले अध्यात्मलाई कृषिसँग जोडेर साधना गर्न ड्रागन खेती गरेकी हुन्। अहिले आम्दानीको १० देखि २० प्रतिशतसम्म तत्कालै समाजसेवामा खर्चिन्छिन्। कहिले ड्रागन गौसंरक्षणमा लगेर गाईलाई खुवाउँछिन् त कहिले आश्रमहरुमा पुगेर चखाउँछिन्। उसो त उनी ड्रागन बिक्रीबाट भएको आम्दानीले किसानलाई सम्मान गर्न पुग्छिन्।
भौतिक सुखसयलभन्दा श्रमको साधनामा समर्पित कल्पनाको ड्रागनफ्रुटको खेतीले आय मात्र दिएको छैन, जीवनदर्शन दिएको छ। उनले गरेको पौरखको खेती जीविकोपार्जनभन्दा परको कुरा हो। यो हो, ‘अध्यात्म र माटोसँगको स्पर्श। पौरखले दिएको सन्तुष्टि।’