
नेपालगन्ज – प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापाले अपराध नियन्त्रणमा कुनै सम्झाैता नगर्न निर्देशन दिएका छन्।
कर्णालीबाट काठमाडौँ फर्किने क्रममा बाँकेका प्रहरी अधिकृतलाई भेटेर आइजिपी थापाले उक्त निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जिल्लाको शान्ति सुरक्षासहित पछिल्लो अवस्थाका विषयमा ब्रिफिङ गरेका थिए।
साथै अन्य मातहतका प्रहरी अधिकृतहरुबाट ब्रिफिङ लिँदै महानिरीक्षिक थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए।
स्थानीय शान्ति सुरक्षालगायतका विषयमा प्रहरी महानिरीक्षक थापाले चाडपर्व लक्षित शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिएका हुन्।
नेपालगन्ज र आसपासको क्षेत्र संवेदशनशील भएकाले निष्पक्ष अनुसन्धान गर्न र फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन थप सक्रिय भएर लाग्न पनि उनले निर्देशन दिए।
महानिरीक्षक थापा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण सकेर बाँके आइपुगेका थिए। महानिरीक्षक थापा मंगलबार नै काठमाडौँ फर्केका छन्।