
मोरङ- जिल्ला कारागार मोरङमा रहेकी एक महिला कैदी मृत अवस्थामा भेटिएकी छन् ।
कारागारका जेलर प्रमुख गौरव ढुंगेलका अनुसार सुनसरीको वराह क्षेत्रकी करिब ३२ वर्षीय राधा भट्टराई महिला सेलस्थित शौचालयमा झुण्डिएर अवस्थामा फेला परेकी हुन् ।
२०८० साल माघको पहिलोसाता नाबालक एक छोरा र एक छोरीसहित सप्तकोशी नदीमा हामफालेकी भट्टराईलाई उद्धार गरिएको थियो । सो क्रममा स्थानीय र प्रहरीले भट्टराई र उनको छोरालाई कोशीबाट उद्धार गरेपनि, नाबालिका छोरीको भने डुबेर मृत्यु भएको थियो ।
उद्धार गरिएकी भट्टराईलाई जिल्ला अदालत सुनसरीले कर्तब्य ज्यान मुद्धामा २५ वर्षको कैद सजाय तोकेको जेलर ढुंगेलले जानकारी दिए । जेलर ढुंगेलका अनुसार सुनसरी अदालतले २०८१ कार्तिक ७ गते उनलाई कैद सजाय सुनाएको थियो ।
५ सय ६७ जना कैदी राख्न सक्ने क्षमता भएको जिल्ला कारागार मोरङ हाल १ हजार १ सय ४१ जना कैदीबन्दी रहेका छन् ।
कारागारको तीनवटा भवन परिषरमा ९९ जना महिला क्षमता भएपनि हाल १ सय ७ जना महिला बन्दी रहेको जेलर ढुंगेलले जानकारी दिए ।
त्यसैगरी, ४ सय ६८ जना पुरुष राख्न सक्ने क्षमताको कारागारमा हाल १ हजार ३४ जना कैदीबन्दी रहेका छन् ।