
जनकपुरधाम – मधेस प्रदेश सभाको छैटौँ अधिवेशन बिहीबारदेखि सुरु हुने भएकाे छ। मधेस सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकोमा सोही अनुसार बैठक बस्न लागेको हो।
मधेस प्रदेशसभा सचिवालयले भोलिको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको एवं बैठक बारे सांसदहरुलाई जानकारी समेत गराइएको जनाएको। भोलीदेखि नयाँ अधिवेशन सुरु हुन लागे पनि प्रतिपक्षी दलका सांसदहरुले प्रदेशसभामा भएको अवरोधलाई कायमै राख्ने जनाएको छ।
सरकारले आफूहरुको माग सम्बोधन गर्नमा क्रियाशीलता नदेखाएको र अर्थमन्त्रीले प्रदेश सभालाई नै ढाटने गरी बजेट पुस्तीका वितरण गरेको भन्दै अर्थ मन्त्रीको राजीनामा माग गरेका छन्।
विगत बजेट अधिवेशनमा समेत आफूहरूले सो माग राख्दै बजेट पारित गर्ने प्रक्रियामा सहभागी नभएको र यस अधिवेशनमा समेत आफूहरूको माग यथावत् रहेको जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए। अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरुको प्रदेश सभामा अवरोध कायमै राख्ने प्रतिपक्षी दलको अडान छ।
यादवले अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा वितरण गरेको कार्यक्रम पुस्तीका छुट्टा छुट्टै तयार गरेको बजेटको विषयमा छानविन गर्न गठन गरिएको कार्यदलमा छुट्टै प्रस्तुत गरेर प्रदेश सभालाई अवमूल्यन गरेको आरोप लगाए।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिष पटेलले भोली बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको बताए। उनले विगतमा पनि पटक पटक सर्वदलीय बैठक बोलाइएकोमा सहमति नजुटेकाले भोली पनि सम्भावना न्यून रहेको बताए। उनले अर्थमन्त्रीको राजीनामा, फरक फरक रेडबुक लगायतको विषयमा प्रतिपक्षी दलको असहमति रहेको तथा प्रतिपक्षी दल भ्रष्टाचारको प्रशय दिने पक्षमा नरहेको बताए।
मधेस प्रदेश सभाको छैटो अधिवेशन बिहीवार १ बजेदेखि सुरु हुँदै छ। प्रदेश सभाको कार्य व्यवस्था परामर्श समेतको बुधवार बसेको बैठकले प्रदेश सभाको कार्यसुचि समेत तय गरेको छ।
भोलीको बैठकमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन सभामा पेश गर्ने, विषयगत समितिका वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ।