
जनकपुरधाम- मधेस प्रदेशसधाका देखिएको अवरोध हटाउन बोलाइएको सर्वदलीय बैठकलाई प्रतिपक्षी दलहरुले बहिष्कार गरेको छ ।
प्रदेशसभाको अवरोध हटाउन सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएकोमा प्रतिपक्षी दलका सांसदहरुले बैठकमा नै सहभागिता जनाएका छैनन् ।
बैठकमा प्रतिपक्षी दल अनुपस्थित भएपछि कुनै पनि सहमति हुन सकेको छैन । जनमत पार्टीका प्रमुख सचेतक चन्दन कुमार सिंहले विपक्षी दलहरू बैठकमा नआएको कारणले कुनै पनि सहमति हुन नसकेको बताए ।
यसअघि बिहीबारसमेत सर्वदलीय बेठक बहिष्कार गरिएको थियो । दिउँसो १ बजे प्रदेशसभा बैठक बसेकोमा प्रतिपक्षी दलको अवरोधपछि बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिपक्षी दलले मधेस सरकारले चालु आवको लागि ल्याएको बजेटमा सदनमा प्रस्तुत गरेको ‘रेडबुक’ र बजेट सूचना प्रणालीमा दर्ता भएको योजना फरक फरक भएकाले अर्थमन्त्री सुनिलकुमार यादवले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएको छ ।
प्रतिपक्षी दलको बहिष्कारको बिच चालु आव २०८२/८३ को बजेट पारित भएको थियो ।
हाल जनमत पार्टीको नेतृत्वको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ भने जनता समाजवादी पार्टी, नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टी प्रतिपक्षमा रहेको छ ।