
जनकपुरधाम- जनता समाजवादी पार्टी(जसपा), नेपाल मधेस प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंहको निलम्बन फुकुवा भएको छ ।
मधेस प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै सिंहको निलम्बन फुकुवा भएको जनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असार १३ गतेको निर्णयअनुसार प्रदेशसभा सदस्य सिंह धरौटीमा रिहा भएको देखिएको, हाल हिरासत वा थुनामा नरहेको र उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्रसमेत अदालतमा दायर नभएकाले उनको निलम्बन फुकुवा गरिएको सूचनामा उल्लेख छ ।
गत जेठ २९ गते अनामनगरबाट सिंह पक्राउ परेका थिए । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनी पक्राउ पर्नुअघि अख्तियारको टोलीले उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत पक्राउ गरेको थियो ।