
विराटनगर- साना तथा मझौला व्यवसायको प्रवद्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा कोशी प्रदेश सरकारले ‘उदय’ परियोजना सुरु गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन परियोजनाको भूमिका अहम हुने विश्वास लिएका छन् ।
प्रदेशको पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले यस परियोजनामार्फत सञ्चालनमा आउने नव उद्यमशिलता प्रवद्र्धनले प्रदेशको सम्बृद्धिमा सकारात्मक योगदान दिने बताए ।
विराटनगरमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा.मोहन सुवेदीले उदय परियोजनाबाट प्रदेशको आर्थिक पाटोलाई बलियो बनाउने आधारको निर्माण हुने बताए ।
आर्थिक सल्लाहकार डा. सुवेदीका अनुसार परियोजना अन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत ब्यवसाय विकास सेवा उपलब्ध हुनेछ । उनले भने,’यसअन्तर्गत करिब ६० करोड रुपैयाको ग्यारेन्टी कोषमार्फत ८ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षा हुनेछ । त्यसैगरी २८ करोड रुपैयाको च्यालेन्ज कोषमार्फत प्रतिस्पर्धात्बक र प्रवद्धनात्मक क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । समग्रमा यस परियोजनाले प्रदेशको आर्थिक र उद्यमशिलतालाई थप उचाइमा लैजानेछ ।’
परियोजनाले कोशी प्रदेशमा रोजगारी सृजना गर्दै अर्थिक समृद्धिको ढोका समेत खोल्ने अपेक्षा रहेको उनले बताए । त्यसैगरी परियोजनाका ब्यवसाय विकास प्रमुख विष्णु काफ्लेले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भएको कार्यान्वयन चरणमा प्रवेश गरेको बताए ।
प्रदेश सरकारले परियोजनालाई १४ जिल्लाभित्र पुर्याउने लक्ष्य राखेको बताउँदै काफ्लेले परियोजनाअन्तर्गत सरकारको क्रेडिट ग्यारेन्टीमा करिब ८ अर्ब रुपैयाँ लगानी परिचालन हुने बताए ।
सरकारले परियोजनालाई विशेष गरी पहाडी क्षेत्रमा रहेका साना तथा मझौला उद्योगलाई दरिलो बनाउन र नयाँ उद्योग स्थापनालाई प्राथमिकतामा राखेको छ ।
पहिलो चरणमा ४ वर्षको समयसम्म हुने परियोजनाको योजना भने १० वर्षसम्म सञ्चालन हुने बताइएको छ ।