धनगढी – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीलाई आगामी २०८४ को निर्वाचनमा बहुमतसहित सरकारमा पुर्याउने दावी गरेका छन्।
पार्टीको कैलाली जिल्ला कमिटीको बैठकमा शनिवार सम्बोधन गर्दै वरिष्ठ नेता गौतमले हरेक नेता–कार्यकर्तालाई जोश जाँगरका साथ लाग्न आग्रह गर्दै एकीकृत समाजवादीलाई बहुमत दिलाउन आफ्नो संकल्प रहेको बताए।
उनले भने, ‘हरेकमा जोश जाँगर संकल्प रहेको छ, तर जनताका बिचमा जान बाँकी रहेकाले शक्ति नदेखिएको हो, अक २०८४ सालमा हुने निर्वाचनमा त्यो शक्ति देखाउँछौँ।’
उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘यसअघि म यस पार्टीमा थिइनँ के भयो मलाई थाहा छैन, अब म यस पार्टीमा छु, मेरो संकल्प २०८४ मा पार्टीलाई बहुमत दिलाउने हो, त्यो म पूरा गर्छु।’
उनले कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले काम गर्नै पर्ने बताए । उनले काम गरेर बाँच्छु भन्ने संकल्प गर्न पनि सबैलाई आग्रह गरे ।
नेता गौतमले आफूले जे वोल्यो त्यो गर्ने गरेको भन्दै अब एकीकृत समाजबादीमा आबद्द हरेक संगठित सदस्यलाई महिनाको ५०० र साधारण सदस्यलाई महिनाको १०० शुल्क लगाउनु बताए। नेता गौतमले भने, ‘कार्यकर्ताबाट उठाएको रकमको दुरुपयोग हुँदैन, उठेको शुल्कले रोजगारी सिर्जना गर्ने मेरो लक्ष्य छ।’
नेता गौतमले समाजवादी पार्टी अघि बढ्ने र आफ्नो संकल्प पूरा गर्ने बताए। उनले अब पार्टीमा एक ब्यक्ति एक जिम्मेवारी दिएर अघि बढ्ने बताए।

भर्खरै
लोकप्रिय






































































































































































































