
जनकपुरधाम- मधेस सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ०.०३ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आवका लागि पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार र चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ गरी ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको हो ।
विनियोजन गरिएको रकमको पहिलो महिनामा ०.०३ प्रतिशत मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेस प्रदेशले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यस आवको पहिलो महिना साउनमा १ करोड ३५ लाख ९६ हजार ९८०.६९ रुपैयाँ खर्च भएको हो । यसमा पूँजीगत तर्फ शून्य रकम खर्च भएको हो ।
शिक्षा तथा संस्कृति मन्त्रालयले एक महिनामा सबैभन्दा बढी रकम खर्च गरेको हो । शिक्षा तथा संस्कृति मन्त्रालयले साउनमा चालु तर्फ ५३ लाख ४६ हजार ३०४.४० रुपैयाँ खर्च गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८ लाख १३ हजार १२२.१६, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४ लाख ६० हजार ४६७.८० रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयले १८ लाख १३ हजार १२२.१६ रुपैयाँ खर्च गरेको छ । यस्तै प्रदेश लोकसेवा आयोगले ११ लाख ३८ हजार ४९७ रुपैयाँ खर्च गरेको तथ्यांक छ ।