
मोरङ – प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल सात दिनभित्र टुंगो लगाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्देशन दिएका छन्।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले सात दिनभित्र मन्त्रालयमा पुगेका राय परामर्श र अन्य सबै खाले फाइल टुंगो लगाउन निर्देशन दिएका हुन्।
मुख्यमन्त्री कार्कीले सात दिनभित्र फाइल किनारा लगाउन नसकेको अवस्थामा कारणसहित सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने बताए। उनले भने, ‘हामीकहाँ धेरै फाइल पनि हुँदैन, तैपनि अड्काउने प्रवृत्ति राम्रो होइन। यसमा सुधार होस्। प्रदेशलाई गति दिएर समृद्धितर्फ लैजाने ध्येय सरकारको हो। यसमा बाधा–अड्चन आउनु भएन।’
त्यसैगरी, मुख्यमन्त्री कार्कीले बेरुजु फस्र्याेटमा पनि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिए। उनले लिखित रूपमा बेरुजु फस्र्याेटका लागि अनुरोध गर्ने त्यसो नभए कानुनी प्रक्रिया अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको आर्थिक समृद्धिका लागि सुरु गरेको उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलन मार्फत आएका परियोजनालाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
कार्यक्रममा कोशी प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फस्र्र्याेट र ओएनएम सर्वेका काम साथै राजस्व कानुनलगायत विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन्। नीति तथा कार्यक्रम समीक्षामा प्रदेश सरकारका मन्त्री, सचिव र मन्त्रालयका महाशाखा प्रमुखहरूको उपस्थिति थियो।