
मोरङ – कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई कुवेत भ्रमणमा जाने भएका छन्। विराटनगरमा सोमबार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले मन्त्री राईको भ्रमणका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। बैठकपछि सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले दुइवटा मन्त्रालय सम्हाल्दै आएका मन्त्री राईलाई कुवेतस्थित जनसम्पर्क समितिबाट निमन्त्रणा आएको बताए।
मन्त्री भण्डारीले जनसम्पर्क समितिको निमन्त्रणामा जाने हुने मन्त्री राईको अनुमतिका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए।
सोही क्रममा मन्त्री भण्डारीले भ्रमणका क्रममा मन्त्री राईको खर्च जनसम्पर्क समितिले नै व्यहोर्ने प्रस्टाए। उनलेभने, ‘यस क्रममा उहाँको खर्च प्रदेश सरकारबाट नब्यहोर्ने र खर्च जति जनसम्पर्क समितिले नै ब्यहोर्न भएको छ। अहिले हामीले उहाँको भ्रमणका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको छ।’
त्यसैगरि, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत सचिव डा. यदुचन्द्र घिमिरेलाई प्रदेशको स्वास्थ्य मन्त्रालयको प्रदेश सचिवमा सरुवा गरिएको मन्त्री भण्डारीले बताए।