
मोरङ – पहिचान र अधिकारविनाको संघीयताको अर्थ नभएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। विराटनगरमा सोमबार संघीय लोकतान्त्रिक मोर्चाद्वारा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको वर्तमान संघीयता नक्कली भएको उल्लेख गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेशी पार्टीलाई विभाजन गराउनेको कुनै अत्तोपत्तो नभएको बताए।
अध्यक्ष यादवले सबै मधेशी पार्टी एक भएर मैदानमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्। उनले भने, ‘हामीलाई विभाजित गराउने पक्षको कुनै अत्तोपत्तो छैन। तरपनि मधेशी पार्टीहरु अब एक हुन आवश्यक छ। जुनदिन हामी एकभएर अघि आउँछौ अनि शासकवर्ग त्यहाँबाट भाग्नेछ।’
त्यसैगरि, उनले मुलुकको वर्तमान संघीयतासमेत नक्कली भएको उजागर गरे। उनले भने, ‘अहिले मुलुकको संघीयता समेत नक्कली छ। यसले पहिचान र अधिकार दिन सकेको छैन। पहिचान र अधिकार विनाको संघीयताको अर्थ छैन।’
त्यसैगरि, अध्यक्ष यादवले विगतदेखि हुँदै आएका अधिकार प्राप्तिका आन्दोलन प्रभावकारी हुन नसकेको स्विकारे। अधिकार प्राप्तिका लागि लडेका नेता विभाजित हुने, पार्टी विभाजन गरी छिन्नभिन्न हुने क्रमले अधिकार प्राप्तिको आन्दोलन कमजोर भएको उनको भनाइ छ।
जागरण अभियानमा राष्ट्रिय मुक्ती पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशका जनताका लागि आफूहरु विगत ३५ वर्षदेखि निरन्तर संघर्षमा होमिएको बताए। यद्यपि, हालसम्म जनताले न्याय पाउन नसकेको उनले बताए।