
काठमाडौँ- चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको विषयमा चिनियाँ राष्ट्रपतिसँग आपत्ति जनाएको परराष्ट्रसचिव अमृत राईले बताएका छन्।
‘चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई लिपुलेकको विषयमा आपत्ति जनाउनुभयो, लिपुलेकको भारतसँग भएको समझदारी कार्यान्वयन नगर्न अनुरोध गर्नुभयो,’ परराष्ट्रसचिव राईले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे विमानस्थलमा पत्रकारहरूसँग भने।
नेपालले युक्रेनलाई दिँदै आएको समर्थन रुसी राष्ट्रपति भ्यालिदिमिर पुटिनसँगको भेटपछि फिर्ता लिएको हो भन्ने प्रश्नमा भने सचिव राईले गोलमटोल जवाफ दिए।
‘मैले तपाईँको प्रश्नको जवाफ राम्ररी बुझेँ कि बुझिनँ तर नेपालको परराष्ट्रनीति नेपालको संविधानले निर्दिष्ट गरेअनुरूप हुन्छ,’ राईले भने।
पाँचदिने चीन भ्रमण सकी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राति स्वदेश फर्केका छन्। एससिओ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले एससिओको पूर्ण सदस्य बन्न आग्रह गरेको जानकारी पनि राईले दिए।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँगै रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए। ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए।
प्रधानमन्त्री ओली भने बुधबार राति काठमाडौँ ओर्लनेबित्तिकै सोझै बालुवाटार प्रस्थान गरेका थिए। उनले सञ्चारकर्मीलाई सम्बोधन गरेनन्।