
काठमाडौँ– नेपाल राष्ट्र बैंकले भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द गरेको एक हजारको नोट छपाइ गर्न फेरि ठेक्का आह्वान गरेको छ।
भारतीय कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले तीन वर्षअघि गुणस्तरहीन नोट छापेपछि राष्ट्र बैंकको सञ्चालक समितिले ठेक्का सम्झौता रद्द गरेको थियो।
२०८० फागुनमा भारतीय कम्पनीसँगको सम्झौता तोडेपछि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नयाँ ठेक्कामार्फत नोट छपाइ प्रक्रिया अघि बढाएको हो। राष्ट्र बैंकले एक हजारका ४३ करोड थान नोट छाप्न लागेको हो।
भारतीय कम्पनीसँग भएको सम्झौताअनुसार २०८० सालको दशैँअघि नै ती नोट आइसक्नुपर्ने थियो। तर पटकपटक ताकेता गर्दा पनि भारतीय कम्पनी गुणस्तर सुधार गर्न तयार नभएपछि नयाँ प्रक्रिया अघि बढेको राष्ट्र बैंकको दाबी छ। भारतीय कम्पनीले एक करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलरमा ठेक्का पारेको थियो।
गत फागुन २८ गते विभागले नोट छपाइका लागि इच्छुक कम्पनीहरुलाई ग्लोबल टेण्टरमार्फत प्राविधिक प्रस्ताव माग गरेको थियो। उक्त प्राविधिक प्रस्तावमा ६ देशका कम्पनी योग्यका रुपमा छनोट भएका थिए। राष्ट्र बैंकको सूचना अनुसार तिनै छनोट भएका ६ वटा कम्पनीलाई यही भदौ १० गते पुनः ग्लोबल टेण्टरमार्फत आर्थिक प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।
असोज २४ गतेसम्म ती कम्पनीले कुन दररेटमा एक हजारको नोट छाप्ने हो त्यसका लागि प्रस्ताव पेश गर्नुपर्नेछ। यसपटक प्राविधिक प्रस्तावमा भारतीय बाहेकका कम्पनीहरु छनोट भएका छन्।
राष्ट्र बैंकका अनुसार चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिण्टिङ कर्पोरेसन, बेलायतको डिलारु इन्टरनेशनल लिमिटेड, जर्मनीको गिजेक एण्ड डेभ्रियेन्ट करन्सी टेक्नोलोजी, रुसको ज्वाइन्ट स्टक कम्पनी गोजनाक प्राविधिक रुपमा नोट छाप्न योग्य देखिएका छन्।
त्यस्तै फ्रान्सको ओबरथुर फिडुसिएरे एसएएस, पोल्याण्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्क्स पनि प्राविधिक रुपमा सफल भएका छन्। यीमध्ये एक कम्पनीले राष्ट्र बैँकबाट नोट छाप्ने ठेक्का पाउनेछ।
अघिल्ला गभर्नर महाप्रसाद अधिकारीकै समयमा नमूनाका रुपमा पठाइएका नोट परीक्षणका क्रममा गुणस्तरहीन पाइएपछि राष्ट्रबैंक ठेक्का नै रद्द गर्ने निर्णयमा पुगेको थियो। स्रोतका अनुसार भारतीय कम्पनीले पठाएको नोटको परीक्षण गर्ने क्रममा राष्ट्र बैंक आफैँले मात्रै नभई स्विस विज्ञहरुको समेत सहयोग लिएको थियो।
नेपालको नोट छपाइको ठेक्का पाउँदै आएकोमा भारतीय कम्पनीले गुणस्तरहीन काम गरेपछि सम्भवत पहिलोपटक ठेक्का नै तोडेर राष्ट्र बैंकले पुनः अर्को ठेक्का अघि बढाएको हो। यसप्रति भारत सरकार नै असन्तुष्ट बनेको चर्चा राजनीतिक र कूटनीतिक वृत्तमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषयसमेत उठ्ने बताइएको छ।
गभर्नर विश्वनाथ पौडेलले नोट छपाइएको विषयमा आफूहरुको ध्यान गुणस्तर र सुरक्षामा मात्रै केन्द्रित रहेको बताए। नयाँ ठेक्का प्रक्रिया अघि बढेको स्वीकार गर्दै देश सञ्चारसँग उनले अगाडि भने, ‘नोट छपाइको जिम्मा कस्ले पायो भन्दा पनि यसमा हाम्रो चिन्ता गुणस्तर र सुरक्षामा हो। त्यसमा हामी सम्झौता गर्दैनौँ।’
चुच्चे नक्सा अंकित नोट दशैपछि
राष्ट्र बैंकले चुच्चे नक्सा अंकित एक सयको नोट दशैँपछि प्रचलनमा ल्याउने तयारी गरेको छ। चिनियाँ बैंकनोट कम्पनीले नै ठेक्का पाएको चुच्चे नक्सा अंकित सयको नोट दशैँपछि बजारमा आउने राष्ट्र बैंकको दाबी छ। विभागले सयको ३० करोड थान नोट छाप्न गत वर्ष उक्त कम्पनीलाई ठेक्का दिएको थियो।
२०७७ सालमा नेपालले संविधान संशोधन गरेर आफ्नो औपचारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेर नयाँ नक्सा जारी गरेको थियो। त्यसलाई सयको नोटमा राख्ने निर्णय २०८१ वैशाखमा सरकारले गरेको थियो। निर्णयअनुसार चुच्चे नक्सा छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको हो। नोटमै चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतीय पक्ष बेखुस छ।