
जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राजीनामा माग्दै जनकपुरधाममा जेन–जी पुस्ताले प्रदर्शन गरेका छन्।
सोमबार दिउँसो जेन–जी पुस्ताको समूहले जनकचोकमा टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा माग गरे।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचारलगायतका विषयमा देशव्यापी रुपमा भइरहेको आन्दोलनको क्रममा जनकपुरधाममा युवाहरुले सडक जाम गरेर प्रदर्शन गरेका हुन्।
आन्दोलनमा सहभागी दिवाकर उप्रेतीले सरकारले गरेको भ्रष्टाचार, अनियमितता र कुशासनको विरुद्धमा युवापुस्ताहरु जनकपुरधामको विभिन्न भागमा खबरदारीको लागि प्रदर्शन गरिरहेको बताए।
यसअघि सोमबार नै जेन–जी पुस्ताको एक समूहले जानकी मन्दिर हुँदै विभिन्न चोकमा सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गरेका थिए।
काठमाडौँमा जेन–जीको आन्दोलनमा दमन गरेको भन्दै उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।