
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। जनजागरण अभियानअन्तर्गत गोरखा पुगेको माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा आज आकस्मिक पदाधिकारी बैठक राखी उक्त माग गरेको हो।
बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि मङ्गलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिको घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएको छ।
माओवादीले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र मुलुकमा सुशासन कायम गर्ने माग तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।