अहो! सुनसान रोडको त्यो ‘चिच्च्याहट’

अहो! सुनसान रोडको त्यो ‘चिच्च्याहट’
+
-

रोड!

सधैं उस्तै त हुन्छ। चुपचाप। त्यही चुपचाप रोडलाई खल्बल्याउने त ती हतारको जिन्दगी बाँचिरहेका मान्छेका पदचाप हुन्छन्। प्रतिमिनेटमै किलोमिटर गुड्न सक्ने मोटरगाडी हुन्छन्।

तिनै मान्छे। तिनै मोटर गाडीका कर्कस आवाजले रोडलाई सधैं-सधैं खल्बलाइरहेको हुन्छ।

तर रोडको चिच्च्याहट सुनिँदैन। ऊ सधैं-सधैं चुपचाप हुन्छ। सायद सोच्छ होला- मेरो सामर्थ्य नै तिनै मान्छे र मोटरगाडीलाई कुदाउनुमा छ। उनीहरूलाई गन्तव्यमा पुर्‍याउनमा छ।

तर आज देशका धेरै ठूला रोडले उनै मान्छे र मोटरगाडीलाई गन्तव्यमा पुर्‍याउन सकेका छैनन्। देशमै धेरै मान्छेलाई दैनिक गन्तव्यमा पुर्‍याउने काठमाडौँ उपत्यकाका रोडहरू ठप्पछन्। देशमा कर्फ्यू छ। रोडमा संकटकोबेला निस्कने सेना छ।

तिनै सेना छन्, देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार क्षेत्रको पुतली सडकमा पनि। थापाथली रोडमा पनि। पुतलीसडक-थापाथली मेरो दैनिक गन्तव्य नाप्ने रोड हुन् जसरी हजारौँले नाप्छन्।

यी रोड त आज पनि मेरो गन्तव्य नाप्न तयारै थियो। यी रोड हिजो, अस्तिजस्तै हजारौँको गन्तव्य नाप्न पनि तयारै छन्। तर आज सबैसबैका गन्तव्य नाप्न पाएनन्।

हजारौँका गन्तव्य नाप्न नपाएपछि पनि चुपचाप हुनुपर्ने यी रोड आज भने चुपचाप छैनन्। चिच्च्याइ पो रहेका छन्।

बिहान १०:१५ बजे। नखुलेको आकाश। हल्का छिटे वर्षा पनि। सिंहदरबारको उत्तर पश्चिमको न्यूप्लाजा क्षेत्र। बिचसडकमै डङ्लङ्न ढलेको छ प्रहरी बिट जसको रुप सहिसलामत छैन। जलेको छ। सधैंसधैं प्रहरीलाई ढाडस दिने बिट आज ढाडसविनै छ।

यही बिटलाई देखेर रोडलाई लाग्छ होला- बिचरा हिजो जलेर ढलेको बिट आज १०:१५ बजेसम्म पनि उठाइमाग्ने कसैको हात पाएन।

ढलेको प्रहरी बिटकोअगाडि ढलेको छ उस्तैगरी मोटरसाइकल। जसको न टाउको छ, न त पछाडिको भाग। जलेर हाडकरङ्ग मात्र देखिन्छ। यसले पनि पाएको छैन उठाइमाग्ने हात।

म अगाडि बढेँ। कर्फ्यूमा पनि। ललितपुरको कुपोण्डल अफिससम्म पुग्नुछ। देश रोहिरहेको बेला सञ्चार गर्न पनि त छाड्नु भएन!

सिंहदरबारको पश्चिम गेट आइपुगेको छैन। सिंहदरबार त हिजै जलेको हो। पश्चिम गेट नपुग्दै अगाडि उपत्यका ट्राफिक प्रहरी कार्यालय छ, रोडको दाहिनेतिर। ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक छैनन्। बन्दुक बोकेका सेना पो छन् बाहिरै गेटमा।

किन छैनन् ट्राफिक? कार्यालय जलेर ध्वस्त भएको छ। जल्न बाँकी केही देखिँदैन। कार्यालयको दक्षिणतिरको एउटा भवनमा त आगो दन्किरहेको छ। पानी कसले हालेर निभाउने? हिजै जेन-जीले लगाइदिएको आगो आज बिहानसम्म निभेको छैन।

सायद पुतलीसडकलाई लाग्छ होला- मेरै छेउको ट्राफिक साथी जल्दा पनि गर्न मैले केही सकिन।

सिंहदरबारमा धुवा रोकिएको छैन। सिंहदरबारको पश्चिम गेट पुग्दै गर्दा भयानक दृष्यहरू छरपस्ट छन्। दरबारभित्रबाट धुवाको मुस्लो पुत्पुताइरहेको छ। अगाडि चोकको चारतिर गाडी र मोटरसाइकलका कंकाल छरपस्ट छ।

पश्मिगेटको दक्षिणतिर सर्वोच्च अदालत, बार एसोसियसन छन्। सर्वोच्च अदालत अगाडि स्वास्थ्य मन्त्रालय छ। यी सबकासब ध्वस्त भएका छन्। हिजो जेन-जीले लगाएको आगो निभिसकेको छैन।

तर आगो निभाउन बिहान ११ बजेअघिसम्म यहाँ प्रयत्न भएको छैन। कार्यालयका केही कर्मचारी छन्। संचारकर्मी त्यही ध्वस्त संरचनालाई कैद गर्न पुगेका छन्। बाँकी कसले के गर्ने सरकारै त छैन।

यी कार्यालयका अगाडि सडकको दृष्य दर्दनाक छ। सायद आवाजविहीन रोडले चिच्च्याएर भनिरहेको छ होला– ममाथि जलिसकेका यी दर्जनौँ गाडी र मोटरसाइकलका कंकाल त उठाउ। मलाई नै डर लागिसक्यो। तर कसले उठाउने?

माइतीघर क्षेत्रमा कर्फ्यूको पूर्ण पालनाका लागि सेना तैनाथी छन्। मान्छे देख्यो कि उनीहरूले बाँकी कसैलाई राख्दैनन्। कहाँ? किन? सोधिहाल्छन्। के गर्नुपर्छ उनीहरू आफै निर्णय लिन्छन्।

सञ्चारकर्मी मलाई छुट!

माइतीघरको पश्चिम प्रदर्शनी मार्ग जानेतिर जिल्ला सरकारी वकिलको कार्यालय छ। त्यसकै छेउमा जिल्ला प्रहरी परिसर काठमाडौँ पनि छ। यी कार्यालयका अगाडि पनि सडकैभरी मोटराइकलका कंकाल छन्।

माइतीघरको दक्षिणमा थापाथली रोडपर्छ। थापाथली चोक पनि। चोक नजिकै छ- कान्तिपुर मिडिया ग्रुपको भवन जो बिहान ११ बजेसम्म जलिरहेको छ। हिजो दिउँसो जेन-जीले गरेको आगजनीपछि पानी यसले पनि पाएन।

कान्तिपुर मिडियाको नजिकै रहेका महिन्द्रा गाडीको सोरुम, सुजुकी, टाटा मोटर्स र सिजी मोटर्सका स्वरुप पनि उसैगरी ध्वस्त भएका छन्।

यति कहालीलाग्दा दृष्य पुतलीसडकदेखि थापाथली चोकसम्म आइपुग्दा देखिए। अगाडि धमिलो बागमती मस्तरुपमा बगिरहेको छ। तर त्यसअघिको ललितपुर मस्त छैन।

ललितपुरतिरको बागमती छेउमै अस्थायी प्रहरी बिट छ। यो पनि जेन-जीले जलाइवरी ध्वस्त बनाइदिएका छन्। सधैंसधैं सुरक्षाका लागि तैनाथ देखिने प्रहरी आज छैनन्।

सायद ज्यान बचाउन हिजै भागे होलान्। आज ध्वस्त त्यही बिटलाई सेनाले सुरक्षा दिइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?