श्रीयम परिवारको विलौना, ‘जेनजी हामीलाई छोराको लाश देऊ’

श्रीयम परिवारको विलौना, ‘जेनजी हामीलाई छोराको लाश देऊ’
+
-
देशसञ्चार AI सारांश
  • श्रीयम चौलागाई जेन जी पुस्ताको आन्दोलनमा भाग लिँदा मृत्यु भएपछि परिवारले शव उपलब्ध गराउन माग गरेका छन्।
  • मामा केशव कार्कीले श्रीयमको नाम मृतकको सूचीमा देख्दा चकित भए, तर परिवारलाई पीडा सुनाउने ठाउँ छैन।
  • जेन जी आन्दोलनबाट राजनीतिक अन्योल कायम रहँदा अन्य पीडित परिवारहरू सरकारको बेवास्ता देखेर निराश भएका छन्।

दाजु श्रीयम चौलागाई र उनकी बहिनी सधैँझैँ भदौ २३ गते सोमबार बिहान पनि ग्लोबल कलेजबाट काठमाडौंस्थित काडाघारी घर फर्कँदै थिए। त्यो दिन सदाझैँ सामान्य दिन थियो। कलेजबाट फर्कने क्रममा १८ वर्षीय श्रीयम गाडीबाट ओर्लँदै बानेश्वर लागे। साथमै गाडीमा रहेकी बहिनीलाई ‘घर जाऊ, म केहीबेरमा फर्कन्छु’ भनेर उनी बानेश्वरमा ओर्लिए। त्यसपछि उनी कहिल्यै घर फर्कन नसक्ने गरी जेन जी आन्दोलनमा ज्यान गुमाए।

बहिनीलाई विदा गरेका श्रीयमलाई त्यतिबेला जेन जी पुस्ताको आन्दोलनले माइतीघर मण्डलामा विस्तारै आकर्षित गरिरहेको थियो। भ्रष्टाचार अन्त्य र सुशासन कायम राख्नुपर्ने नाराले श्रीयमलाई पनि छोएको थियो। श्रीयमका मामा केशव कार्कीले भने, “पढाइमा तेज भान्जालाई राजनीतिमा खासै चासो थिएन। तर जेन जीको नाराले केही हदसम्म छोएको रहेछ। सोमबार पनि उनी देशलाई निकास दिनुपर्ने उत्साहका साथ आन्दोलनमा होमिएका रहेछन्। तर विडम्बना हामीमाथि बज्रपात भएको छ।”

“आन्दोलनका क्रममा बानेश्वरमा उनलाई प्रहरीले चलाएको गोली लागेको रहेछ। उनको टाउकोमा गोली लागेको रहेछ,” टेलिफोन संवादमा कार्कीले भने। मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयमलाई कार्कीले इटहरीमा सँगै राखेका थिए। प्रवेशिका परीक्षा इटहरीबाट सकेर केही वर्ष अघि उच्च शिक्षा अध्ययनका क्रममा उनी ग्लोबल कलेजमा जोडिएका थिए।

आन्दोलनका क्रममा सोमबार अबेरसम्म घर नफर्किएपछि कार्की र श्रीयमको परिवार खोजीमा जुटेको थियो। कार्की आफैं ट्रमा सेन्टर पुगे। जहाँ आफैंले नचिताएको सूचनाले उनी झस्किए। आन्दोलनपछि ट्रमा सेन्टरले श्रीयमको नाम मृतकको सूचीमा सातौँ स्थानमा राखेको थियो। कार्की अवाक भए। उनले भने, “घटना र सूचनापछि सम्हालिन धेरै बेर लाग्यो। सँगै हुर्काएको, सँगै पढाएको अनि सँगै हिँडेको एकैपटक सम्झे। घरमा सबैलाई भन्न सकिन। श्रीयमका बुवा गणेश चौलागाईलाई मेरो भिनाजुलाई घाइते भनेर बोलाए। आमालाई भोलिपल्ट बिहान मात्र सबैकुरा भन्ने वातावरण बनाए।”

घटना भएको बिहीबार चार दिन बितेको छ। जुन उद्देश्यले जेन जीले आन्दोलन गरे, त्यसअनुरूप प्रधानमन्त्रीको राजीनामा आइसके पनि सरकार गठन वा सरकार निर्माणमा अन्योल देखिएको छ। बुधबार राति अबेरसम्म उनीहरूबीच नै के गर्ने अन्योलता देखिएको थियो।

यता ज्यान गुमाएका परिवार चौलागाईले पनि आफ्नो छोराको शव उपलब्ध गराउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जेनजीलाई नेतृत्व गर्नुहुनेहरुलाई ज्यान गुमाएका परिवारको अनुरोध छ। कहिलेसम्म हामीले हाम्रो छोराहरूको लाश कुरेर बस्ने हो? हाम्रो यो हरेक पल पीडामा बितिरहेको छ, हजुरहरूले चाहेर पनि बुझ्न सक्नुहुन्न। खै त हाम्रो छोराछोरीका लाश? कमसे कम लाश दिनुहोस्, त्यही नै हाम्रो लागि सहयोग हुनेछ।”

यो पीडा श्रीयमका बुवाको मात्र नभएर सो घटनामा ज्यान गुमाउने हरेक युवाको परिवारको हो। जसमा जेन जी कत्ति गम्भीर र संवेदनशील देखिएका छैनन्। उनीहरू अहिले पनि सरकार बनाउन र आपसी बेमेलमा रुमलिएको देखिन्छ।

श्रीयमका मामा कार्कीले भने, “श्रीयमको मात्र कुरा रहेन यहाँ। सो घटनामा निधन भएका सबै जनालाई ज्यान गुमाएका बनाउन जेन जीले के गर्छ? हामीले हाम्रो छोरालाई त्यसै गुमाएका होइनौँ। जेन जीले यसबारे केही सोचेका छन्? अहिलेसम्म जेनजीको कोही सदस्य हाम्रो पीडामा साथ दिन सकेको छैन। अब हामी सबैले हाम्रा नानीहरूलाई ज्यान गुमाएका घोषणा गर्नुपर्ने सुझाव दिन्छौँ। हामीले हाम्रो भविष्य सबै गुमाएका छौँ। बस, अब जेन जी नेतृत्व गर्नेहरूले मृत्युवरण गर्नेहरूलाई ज्यान गुमाएका घोषणा गर्नुपर्छ।”

कार्कीका अनुसार, अहिलेसम्म परिवारले लाश पाउन सकेका छैनन्। ट्रमा सेन्टरमा मृतकको नाम सूचीमा उनको नाम देखिएपछि खोजी गर्दै गर्दा सुरुमा शिक्षण अस्पताल र अहिले भद्रकालीमा राखिएकोसम्म जानकारी पाएको उनले बताए। उनले भने, “जे हुनु भइसकेको छ। अब हामीलाई हाम्रो भाञ्जा बाबुको शव दिलाइदेऊ। जेन जी, तिम्रो लागि यही ठूलो सहयोग हुनेछ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?