
- सम्झना भुजेल सहित १० हजारभन्दा बढी भाटभटेनी कर्मचारी बेरोजगार हुँदा दशैंको मुखमा उनीहरु ठूलो अन्यौलमा छन्।
- जेन—जी आन्दोलनका कारण भाटभटेनी सुपरमार्केटका धेरै स्टोरमा तोडफोड, लुटपाट र आगजनी हुँदा ठूलो भौतिक नोक्सानी भएको छ।
- संचालक मीनबहादुर गुरुङले भनेका छन् कि उनी भाटभटेनीलाई पुनः पुरानै स्वरूपमा फर्काउने प्रयासमा छन्।
गाईघाट स्थायी घर भएकी सम्झना भुजेल (३५) बौद्धस्थित सुपरमार्केट भाटभटेनीमा १३ वर्षदेखि सेल्स हेर्दै आएकी छन्। दसैं नजिकिदै गरेकाले यसपालि पनि उनी खुसी थिइन्। तलब, बोनस र स्टाफका लागि भाटभटेनीले दसैंको अवसरमा दिने उपहारहरु पाउनेमा ढुक्क थिइन्। तलब आएपछि दसैंका लागि घरपरिवारलाई नयाँ सामान किन्ने र गृहजिल्ला जाने योजना बनाएकी थिइन्। तर, उनको योजना तुहाइदियो भाटभटेनीमा परेको बज्रपातले।
भदौ २३ गते भ्रष्टचारविरुद्ध गरिएको जेन—जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली प्रहार भएर पहिलो दिनमै १९ जनाको ज्यान गएपछि तोडफोड लुटपाट र आगजनी सुरु भएको थियो। सरकारले कर्फ्यु आदेश जारी गर्दा पनि भाटभटेनी लुटपाट, तोडफोड र आगजनी तेस्रो दिनसम्म जारी थियाे। उनी कार्यरत बौद्ध स्थिति भाटभटेनी पनि जल्यो। अहिले उनी घरैमा छिन्।
‘भाटभटेनीमा बलेको आगोको धुवाँ अझै कम भएको छैन। यस्तोमा हामी पनि दुःखी छौँ। आस पनि गरेर भएन। हामी त सडकमा आइपुग्यौं। अब नयाँ ठाउँमा जागिर कसले दिने, त्यही काम मागौँ त भाटभटेनी कहिले बन्ने?’ उनले भनिन्।
भाटभटेनीमा काम गर्ने सम्झनासहित १० हजार भन्दा बढी कर्मचारी बेरोजगार हुन पुगेको बताउँछन् भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानुदत्त पौडेल। उनी भन्छन्, ‘नसोचेको नोक्सान भएको छ। भौतिक संरचना त जल्यो नै, पाँच हजार भन्दा बढी कर्मचारी थिए जसको रोजगार खोसियो। हामी सबै सडकमा पुग्यौं।’
मुलुकमै युवापुस्तालाई बढी भन्दा बढी रोजगारी दिने उद्देश्य बोकेको भाटभटेनीलाई विस्तारै मुलुकका ७७ जिल्लामै विस्तार गर्ने योजनामा थिए सञ्चालक मीनबहादुर गुरुङ। तर एक्कासि ब्रेक लागेको छ, जेन—जी आन्दोलनले लगभग धुलिसात पारिदिएको छ।
२०४१ सालमा काठमाडौँ नक्सालमा एउटा सटरबाट सुरु भएको भाटभटेनी डिपार्टमेन्टल स्टोर नेपालमा लगानी रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेको थियो।
निर्देशक पौडेलका अनुसार देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरुपमा ध्वस्त भएका छन्। प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए जसका कारण सबै स्टोर जलेर खरानी हुन पुग्यो।
पोखरा आगजनी भएको भाटभटेनी सुपरस्टोरमा नौ वटा स्टोर तोडफोड गरेर सामान लुटपाट गरिएको थियो। ‘भौतिक संरचना र आर्थिक क्षति त कल्पना बाहिरको छ,’ पौडेलले देशसञ्चारसँग भने, ‘जेन—जी आन्दोलनमा भाटभटेनीका जति पनि स्टोरमा तोडफोड, लुटपाट र आगजनी भएको त्यही कारण त्यहाँ कार्यरत कम्तीमा दश हजार जनाको रोजगारी गुमेको छ।’
पौडेलका अनुसार छोटो समयमा यति ठूलो संख्यामा रोजगारी गुम्नु अर्थतन्त्रमा पनि क्षति पुग्नु हो। ‘भौतिक क्षति अर्बौँको हुन पुगेको छ। तर भाटभटेनीमा काम गरेर आफ्नो जीवन निर्वाह गरिरहेका दश हजार जनाको व्यवस्थापन गर्न ठूलो चिन्ताको विषय हो।’
नेपालमा भनसुन बिना रोजगार नपाइने अवस्था सर्वविदितै छ। काम पाउन नेताको पावर लगाउनु पर्ने तितो यथार्थ छ। अवसरका खोजीमा दैनिक हजारौको संख्यामा खाडी मुलुक जानेहरू छन्। तर भाटभटेनीले दश हजार बढीलाई रोजगार दिएको थियो। थोरै कमाइ भए पनि परिवारसँग बस्न पाउँदा खुसी थिए उनीहरु।
सम्झना भन्छिन्, ‘भाटभटेनीको जागिर पाएपछि विदेश नगए पनि पुग्छ लाग्यो। आफ्नै नन्दलाई पनि भाटभटेनीमा लगाएँ। अहिले नन्द—भाउजु नै बेरोजगार भइयो।’
बिहानको कलेज गएर दिनभरि भाटभटेनीमा काम गरेर पढाइ खर्च, कोठा भाडा र काठमाडौँको जीवनशैली जिउन अभ्यस्त भाटभटेनीमा काम गर्ने ती विद्यार्थीहरु पनि निराश छन्। दसैंको मुखमा ठूलै अन्यौलबाट गुज्रिनु परेको छ।
‘हजारौको संख्यामा रोजगार गुम्नु आफैमा दुखद् कुरा हो,’ उनै अधिकृत पौडेलले भने, ‘भाटभटेनीको पुन निर्माण र रोजगार खोसिएका ती पाँच हजार जनालाई अब बन्ने सरकारले कसरी व्यवस्थापन गर्ला भन्ने प्रश्न पनि खडा भएको छ।’
पुरुषको तुलनामा महिला बढी कार्यरत थिए भाटभटेनीमा। आफ्ना स—साना बालबच्चा हुर्काउँदै बचेको समयमा भाटभटेनीमा काम गर्दै आएका ती महिलाहरूको विचल्ली भएको छ। भाटभटेनी गोदामदेखि स्टोरसम्म गर्दा बीस हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउँदै आए बताउँछन् उनै पौडेल। उनले भने, ‘अब के कसरी बनाउने भन्नेमा हामी अन्यौलमा छौँ। यति ठूलो क्षतिको जिम्मेवारी कसले लिने हो? तोडफोड लुटपाट र आगजनीको जवाफदेही को हुने?’
साढे दुई दर्जन भन्दा बढी स्टोरमध्ये प्रमुख र ठूला १२ वटा पूर्णरुपमा जलाएर ध्वस्त पारिएको छ। चावहिल चुच्चेपाटी, नक्साल, महाराजगञ्ज बौद्ध कोटेश्वर बालुवाटार वेयरहाउसमा तोडफोड लुटपाट र आगजनी गरिएको छ। त्यसैगरी पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपरस्टोर पनि ध्वस्त पारिएको छ।
लुटपाट र तोडफोडचाहिँ दर्जन हाराहारीका स्टोरमा भएका छन्। उपत्याकाभित्र—कलंकी, बालाजु, थिमी, र उपत्याका बाहिर जनकपुर, बुटवल बीरगञ्ज धनगढी इटहरी र भैरवा स्टोर छन्।
भाटभटेनीले वर्षभरि जति व्यापार गर्छ, त्यसमध्ये ठूलो हिस्सा दसैंको मुखमा गर्ने गरेको उनै पौडेल बताउँछन्। ‘१२ प्रतिशत हिस्सा दसैंको पहिलो दश दिनभित्र हुन्छ’, उनले भने।
‘भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले तोडफोड लुटपाट र आगजनीप्रति दुःख व्यक्त गरेको बताउँदै गुरुङको भनाइ उद्धृत गर्दै उनले भने, ‘दसैंको मुखमा आएर यस्तो दुःखद घटना हुँदा केही विचलित भने भएको छु तर मैले हार मानेको छैन। हामी भाटभटेनीलाई फेरि पुरानै स्वरुपमा ठड्याउँछौँ।’
गुरुङको सानो मेहेनतले भाटभटेनी जन्मिएको थिएन। ४१ वर्षमा गुरुङले भाटभटेनीलाई अन्तर्राष्ट्रिय स्तरको सुपरमाकेर्ट बनाएका थिए। सर्वसाधारणलाई विश्वमा पाइने उपभोग्य सामान सहज रुपमा उपलब्ध गराउन सकेका थिए। र सामाजिक र क्षेत्रमा पनि काम गर्दै आएका थिए। शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा उनले आर्थिक सहयोग पनि गर्दै आएका थिए। व्यवसाय र समाजसेवालाई सँगसँगै अघि बढाइहेका गुरुङको भाटभटेनीमै किन तोडफोड र आगजनी भयो?
गत चैत १५ गते तीन कुनेमा राजाबादीको प्रदर्शनको बेला कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो जसमा ८० लाख ३३ हजारभन्दा बढीको क्षति भएको थियो ।