
सोमबार (भदौ २३) बिहानसम्म ठीकठाकै थियो। कमसेकम बाहिरबाट हेर्दा त्यस्तै देखिएको थियो।
शनिबार ( भदौ २८) बिहान अर्थात आज पनि ठीकठाकै छ। कमसेकम बाहिरबाट हेर्दा त्यस्तै देखिएको छ।
यी पाँच दिनमा देशको राजनीतिक र सामाजिक नक्सामा भने धेरै परिवर्तन आएको छ।
फेरिन पाँच दिन पर्याप्त हुँदो रहेछ।
दुई दिनको आन्दोलन र तीन दिनको संक्रमणपछि शुक्रबार बेलुकी नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको शपथ र संसद विघटनपछि अहिले सबै कुरा सामान्य बन्न थालेको छ। कमसेकम दैनिक जनजीवन। आम मानिसका लागि सहज दैनिक जनजीवनले धेरै अर्थ राख्छ।
यो परिवर्तनका लागि ५० भन्दा बढी प्रदर्शनकारी, प्रहरी र सर्वसाधारणको ज्यान र खर्बौँको सम्पत्ति गुम्यो। देशका महत्त्वपूर्ण संरचनाहरू जलेर खरानी भए। देउवा र उनकी पत्नीजस्ता कैयन अगुवा र नेताहरूले अपमानजनक ढंगले शारीरिक र मानसिक दुर्व्यवहार भोगे। आक्रोशको आगोले सबै डढाइदियो।
आम मानिसको हृदय जलेको दलहरूले देख्न नसक्दा त्यो आक्रोशका रूपमा प्रकट भयो। भ्रष्टाचार र कुशासनले आम मानिसको हृदय जलेको कसैले महसुस गर्न सकेन।
यी पाँच दिनमा कत्ति पनि फेरिएका छैनन् भने पुराना पार्टीहरू- खासगरी एमाले र माओवादी। उनीहरू फेरिनै चाहेका छैनन्। बोली, वचन र व्यवहारमा त्यो देखिएको छैनन्।
कांग्रेसका गगन थापालगायत केही नेताहरूले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् र फेरिने संकल्प गरेका छन्।
गगन थापाका थुप्रै कमजोरीहरू छन्। उनीमाथि थुप्रै आरोपहरू लाग्ने गरेका छन्। तर पनि उनमा केही राम्रा गुण पनि छन्। रहेछन्।
उनका राम्रा गुणमध्ये एक बिहीबार र शुक्रबार उनले जारी गरेका भिडियोमा देखिएको छ। त्यसमा उनको हृदयको जरामा गाडिएको वेदना प्रकट भएको छ। उनले आफू फेरिन चाहेको र पार्टी फेर्न चाहेको सन्देश पनि दिएका छन्। विश्वप्रकाशले पनि त्यही आशयका सन्देश दिएका छन्।
एमालेका एकै जना नेताहरूले अहिलेसम्म त्यो सन्देश दिन सकेका छैनन्। पुरानो संरचना र पुरानो शैलीले अब समाज अगाडि बढ्न सक्दैन भन्ने उनीहरूले बुझ्न चाहेका छैनन्। कमसेकम सार्वजनिक रूपमा उनीहरूले दिएका सन्देश र वक्तव्यहरूमा त्यो देखिएको छैन। म फेरिन्छु वा मैले लिएको बाटो आम मानिसले मन पराएनन् भन्ने चेत उनीहरूमा अझै देखिएको छैन। विनयशीलता र समानुभूति (इम्प्याथी) भन्दा उनीहरू कोसौँ टाढा छन्।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि अहिलेसम्म क्षमायाचना गरेका छैनन्। उनकै अहंकारले अहिलेको आन्दोलन र विध्वंशका लागि झिल्कोको काम गरेको हो भन्ने उनलाई कसैले बुझाइदिनुपर्छ भन्ने मलाई लाग्छ। क्षमायाचनाले हृदयको वेदनालाई धेरै कम गर्छ।
शेरबहादुर देउवाले पनि अहिलेसम्म कुनै क्षमायाचना गरेका छैनन्। प्रचण्ड आफूलाई जेनजी आन्दोलनको मार्गदर्शक वा पक्का समर्थककै रूपमा प्रस्तुत गरिरहेका छन्। जेनजीका माग आफूले यसअघि नै राख्दै आएको भन्दै उनले गोहीका आँसु चुहाउने प्रयास गरेका छन्।
चितवनको उनको घरसँगै करोडौँ रूपैयाँ जलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यस्ता भिडियोहरूको सत्यता परीक्षण हुन बाँकी छ।
म कांग्रेस होइन। म गगन थापाको समर्थक पनि होइन तर उनले दिएका भिडियो सन्देशहरू निकै माझिएका छन्। उनले फेरिनुबाहेक अर्को विकल्प नभएको स्पष्ट सन्देश दिएका छन्। कांग्रेसको पुनर्संरचना र पुनर्गठनको आवश्यकता उनले देखाएका छन्। त्यसका लागि दृढता र अठोट व्यक्त गरेका छन्। अब कांग्रेसबाट देउवा र उनको पुस्ताले सन्यास लिनैपर्छ। गगन वा गगनकै स्पिरिट भएका नेताहरूले नै हो, अब कांग्रेसलाई अघि बढाउनसक्ने।
यी पाँच दिनमा देशको राजनीतिक र सामाजिक नक्सामा भने धेरै परिवर्तन आएको छ। फेरिन पाँच दिन पर्याप्त हुँदो रहेछ।
एमालेबाट ओली र उनको पुस्ता तथा माओवादीबाट प्रचण्ड र उनको पुस्ताले अब राजनीतिबाट सन्यास लिनैपर्छ। उनीहरूलाई सम्मानित रूपमा सल्लाहकार बनाएर राख्नुपर्छ। माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित पूर्वप्रधानमन्त्रीहरूले सन्यास लिनुपर्ने जुन आवाज अहिले उठिरहेको छ, त्यो जरुरी छ। कांग्रेस, एमाले र माओवादीका युवा नेतृत्वले पार्टीमा पुनर्संरचना गर्ने त्यो साहस राख्नुपर्छ।
माओवादी र एमालेभित्र थुप्रै राम्रा नामहरू छन्। एमालेमा उषाकिरण तिम्सेनाजस्ता नामहरूले आशाका किरणहरू बोकेका छन्। माओवादीभित्र पनि हुनसक्छन् त्यस्ता केही नामहरू जसले अब पार्टीभित्र पुनर्संरचना र परिवर्तनको आवाजलाई बुलन्द गर्नसक्छ। उषाकिरणले शुक्रबार राति सामाजिक सञ्जालमा एमाले महासचिव शंकर पोखरेललाई अब पुरानै ढंगले पार्टी अगाडि बढ्न नसक्ने चेतावनी दिएकी छन्। यो चेतावनीको शक्तिलाई उनले कतिसम्म अगाडि बढाउन सक्छिन् भन्ने परीक्षण अब हुन्छ।
अबको बाटो प्रतिनिधिसभाको चुनाव हो। चुनौती धेरै छन् तर अब चुनाव हुन्छ। चुनावले दिने ताजा जनादेशले संविधान र यसका व्यवस्थाहरूमा हामी जे पनि परिवर्तन गर्न सकिहाल्छौँ। दीर्घकालीन परिवर्तनका लागि दलहरूले आत्मसमीक्षा र पुनर्संरचनाको बाटो लिनैपर्छ। जेनजीले राज्यमा परिवर्तन ल्याएका छन् अब जेनजी जेनवाइ वा जेनएक्सले पार्टीभित्र रूपान्तरण ल्याउनुपर्छ।
अहिलेको आन्दोलनले आत्मसमीक्षाको मौका दिएको छ।
कांग्रेस, एमाले र माओवादीले आफूलाई आत्मसमीक्षा गरून्। राप्रपा र रास्वपाले आफूलाई आत्मसमीक्षा गरून्। म अलि जिद्दी छु भन्ने भाष्य कमसेकम राजनीतिमा उपयुक्त हुँदैन। राजनीतिमा सामूहिकताको शक्ति र सम्मान, राजनीतिमा बहुमत र अल्पमतको शक्ति र सम्मान, राजनीतिमा पारदर्शिताको शक्ति र सम्मान हुन्छ, हुनुपर्छ। केपी ओली प्रवृत्तिले अब राजनीति अगाडि बढ्न सक्दैन।
रास्वपाभित्र पनि सुमनाजस्ता केही सम्भावनाहरू छन् जसमा देश बदल्ने संकल्पको झिल्का देख्न सकिन्छ। अरू पनि होलान्। राप्रपामा पनि त्यस्ता सम्भावनाहरू छन्। पार्टीहरूमा ठूलो संगठन र शक्ति छ र पार्टीकै परिवर्तनले देशमा दीर्घकालीन परिवर्तन सम्भव छ।
तर, अब राज्यका हरेक निकायहरूमा दलीयकरण गर्ने प्रणाली बन्द गर्ने साहस युवा नेतृत्वले गर्नुपर्छ। गगनले यसका लागि आफ्नो प्रतिबद्धता देखाएका छन्। एमाले र माओवादीभित्र पनि त्यस्ता आवाजहरू उठ्नुपर्छ।
न्यायाधीश पनि कांग्रेस, एमाले वा माओवादी हुने परम्परा अब बन्द गर्नुपर्छ। चिकित्सकहरू पनि पार्टी सदस्य हुने परम्परा अब बन्द गर्नुपर्छ। शिक्षक, प्राध्यापक, इन्जिनियर, नर्स, पत्रकारलगायतका क्षेत्रलाई दलीयकरणबाट बाहिर निकाल्नुपर्छ।
म असायमिक संसद विघटनको पक्षमा छैन तर हिजोसम्म संसद कसरी चलिरहेको थियो? संसदीय परम्परा र अभ्यास जीवित थियो? राप्रपा र रास्वपालाई संसदभित्र निषेध गर्नु गलत थियो भनी कांग्रेस-एमालेका कुनै दलका नेताहरूले भने?
देवराज घिमिरेले सभामुखको आचरण र कर्त्वय पालना गरेका थिए? अनि अहिले संसद विघटन हुँदा किन गोहीको आँसु? तत्कालीन गृहमन्त्रीको भिजिट भिसा प्रकरणबिरुद्ध शक्तिशाली आयोग बन्नुपर्छ भन्ने आवाजलाई किन गगन थापाहरूले साथ दिन सकेनन्?
पुराना दलहरूलाई यो आत्मसमीक्षाको अवसर हो। रूपान्तरणको अवसर हो। यसका लागि दलहरूभित्रका युवा आवाजहरूले साहस गर्नुपर्छ।
कांग्रेस, एमाले र माओवादीले गत निर्वाचनमा बहुसंख्यक मतदाताको मत पाएका थिए। उनीहरूले जनताको त्यो मतको सम्मान गर्नसक्दा जनआक्रोशको आगोले उनीहरूलाई सच्चिन बाध्य हुनुपर्ने अवस्थामा ल्याइपुर्याएको छ। उनीहरूले अब आफूलाई कसरी सच्याएर लैजान्छन्, त्यसले नै उनीहरूको भविष्यको बाटो तय गर्छ।