
- नयाँ सरकार गठनपछि शान्ति–सुरक्षामा सुधार देखिएसँगै कोशी प्रदेशमा यातायात सेवा पुनः सुचारु भएको छ।
- जेनजी आन्दोलनका क्रममा आक्रमणहरू हुँदा पनि सार्वजनिक सवारीसाधनमा कुनै क्षति पुगेको रिपोर्ट प्राप्त भएको छैन।
- विराटनगरबाट विभिन्न दिशामा १०५ सार्वजनिक सवारीसाधन आज गन्तव्यतर्फ गएका छन्, भने सडक अवरोधहरू छैनन्।
विराटनगर- जेनजी आन्दोलनसँगै सुरक्षा प्रत्याभूतिको माग गर्दै बन्द गरिएको यातायात सुचारु भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठका अनुसार नयाँ सरकार गठन भएयता शान्ति–सुरक्षामा सहजता देखिएसँगै आजदेखि यातायात सुचारु भएको हो।
जेनजी आन्दोलनका क्रममा देखिएको आक्रमण र शान्ति–सुरक्षा कमजोर भएको अवस्थामै महासंघले मंगलबारदेखि यातायात बन्दको आह्वान गरेको उनको भनाइ छ। यद्यपि, आन्दोलनका क्रममा प्रदेशभर सार्वजनिक यातायातका सवारीसाधनमा क्षति पुगेको रिपोर्ट महासंघमा नआएको उनले बताए। उनले भने, “यसक्रममा धेरै बसहरूलाई सुरक्षित रूपमा ग्यारेजमा राखेका थियौं। सुरक्षित रहे। हामीलाई विभिन्न घटनामा प्रहरी चौकीमा राखिएका बसको चाहिँ डर थियो। तर त्यस स्थानमा समेत क्षति भएको खबर आएको छैन।”
त्यसैगरी, मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार विराटनगरबाट बिहान १० बजेसम्म लामो तथा छोटो दुरीका लागि १०५ वटा सार्वजनिक सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पछिल्लो अवस्था सामान्य बनेको बताउँदै कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले विराटनगरबाट पूर्वतर्फ ५०, पश्चिमतर्फ ३० र धरानतर्फ २५ वटा बस तथा म्याजिक भ्यान चलेको जानकारी दिए।
उनले वातावरण शान्त भएपछि सार्वजनिक सवारी आफ्नै दैनिक तालिकाअनुसार चलेको बताए। यसक्रममा मोरङभर कतै पनि सडक अवरोध नभएको उनको भनाइ छ।