
मोरङ – जेन–जी आन्दोलनका क्रममा कोशी प्रदेशमा नेपाल प्रहरीका ५७ वटा भौतिक संरचनामा क्षति पुगेको छ।
विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार आन्दोनलका क्रममा प्रदेशभर ५७ मध्ये २४ वटा संरचना पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।
पोखरेलले भने, ‘आन्दोलनका क्रममा प्रहरीको ५७ वटा भवन, चौकीमा क्षति पुगेको छ। जसमा २४ वटा संरचनामा पूर्ण रुपमा क्षति भएको छ। ३३ वटा भवनमा आंशिक क्षति भएको छ।’
अन्य जिल्लाको तुलनामा आन्दोलनले झापा जिल्लालाई अधिक प्रभावित बनाएको उनले बताए। पोखरेलले झापामा २२ वटा भवनमा क्षति पुगेको बताए।
त्यसैगरि मोरङमा १८ र सुनसरीमा १४ वटा भवन तथा चौकीमा क्षति पुगेको छ। ट्राफिक प्रहरीतर्फ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीसहित विभिन्न स्थानमा रहेका १२ वटाभवन तथा चौकीमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यसक्रममा १ सय १४ जना प्रहरी घाइते भएको जनाएको कार्यालयले अझै पनि झापामा ३ जना प्रहरी गम्भीर अवस्थामा उपचाररत रहेको बताएको छ। जसमध्ये एकजनालाई आइसियुमा भर्ना गरिएको छ।
यस्तै, आन्दोलनकारीतर्फ ४६ जना घाइते भएको कार्यालयले जनाएको छ। आन्दोलनका क्रममा प्रहरीको ८४ वटा हलुका तथा हेभी सवारीमा क्षति पुगेको छ। ७९ वटा सवारीसाधनमा पूर्णरुपमा क्षति पुगेको जनाउँदै कार्यालयले ५ वटा सवारी साधनमा भने आंशिक क्षति भएको उल्लेख गरेको छ।