
विराटनगर- जेनजी आन्दोलनका क्रममा निधन भएका संखुवासभा जिल्लाका प्रवीण कुलुङप्रति विराटनगरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बुधबार विहान विराटनगर विमानस्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित युवा समूहले मृतक कुलुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सिलिचोङ गाँउपालिका ३ का कुलुङको शव मंगलबार नै हेलिकप्टरमार्फत विराटनगर ल्याइएको नेपाल पत्रकार महासंघ मोरंगका कोषाध्यक्ष कौशल निरौलाले जानकारी दिए ।
मंगलबार खराब मौषमका कारण हेलिकप्टर संखुवासभा जान नसकेपछि शव राति विराटनगरनै राखिएको थियो । यसैक्रममा आज विहान करिब १५ मिनेट विमानस्थलको टर्मिनल भवन बाहिर २१ वर्षीय कुलुङप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी यादवसहित विभिन्न कलेजका विद्यार्थी, युवा अभियान्ता लगायतको सहभागिता रहेको उनले बताए ।
श्रद्धाञ्जली सभापछि कुलुङको शव लिएर विराटनगरबाट उडेको हेलिकप्टर संखुवासभाको ताम्कुस्थित नेपाली सेनाको रणदल गुल्ममा अवतरण गरेको थियो ।
प्रहरीका अनुसार शव उनको घरमा पुराइएको छ । त्यहाँ विधिपूवर्क कर्म सकेर अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएकाछन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौंमा गोली लागेर कुलुङको निधन भएको थियो ।