
सुनसरी- सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको बस–ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जनाभन्दा बढी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बस बिग्रिएर सडक छेउमा रोकिराखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकमा बिहान करिब साढे ९ बजे ठोक्किएको हो ।
दुर्घटनामा परेर करिब ३५ वर्षीय पुरुष र करिब ४० वर्षीया महिलाको मृत्यु भएको उनले जानकारी दिए । पुरुषको इनरुवा स्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने महिलाको भोक्राहस्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरू सप्तरी र सिरहाका रहेका छन् । घटनापछि करिब आधा घण्टासम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।