
- मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयनबाट सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।
- प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिक गुनासाहरूको प्राथमिकता दिंदै कानूनी सुधारलाई अगाडि बढाइरहेको छ।
- संविधान दिवसले आपसी एकता र सहकार्यलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सबैको सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन् ।
संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगीकार गर्दै नागरिकका मौलिक हक–अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानूनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि सारेको स्मरण गराएका छन् ।
प्रदेश सरकारले संविधान, दीगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधार मानी नीतिगत, संरचनात्मक र कानूनी सुधारका कार्य अगाडि बढाइरहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका छन् । सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासाहरूको समयमै सम्बोधनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्दै उनले युवा पुस्ताको चाहना अनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिन प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि पनि आह्वान गरेका छन् ।