
- दाङको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले पनिर र छुर्पी उद्योग स्थापना गर्न योजना बनाएको छ।
- करिब २५ लाखको लागतमा उद्योग स्थापनाको योजना तयार गरी स्रोत जुटाएर अघि बढाउने निर्णय भएको छ।
- विविधिकरणको योजनामा स्थानीय र प्रदेश सरकार तथा गैर सरकारी संस्थासँग साझेदारी गर्ने योजना बनाइएको छ।
दाङ– दाङमा दुधको उत्पादनलाई विविधिकरण गर्न पनिर र छुर्पी उद्योग स्थापना गर्ने तयारी थालिएको छ ।
लमही नगरपालिका वडा नं. १ सुन्डबरीस्थित निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुधको उत्पादनलाई विविधिकरण गर्दै पनिर र छुर्पी उद्योग स्थापना गर्ने योजना बनाएको हो ।
करिब २५ लाखको लागतमा उद्योग स्थापनाको योजना निर्माण गरेको र स्रोत जुटाएर त्यसलाई अघि बढाउने योजना बनाएको सहकारी संस्थाका अध्यक्ष सिता पौडेलले जानकारी दिइन् ।
दुध संकलन बढी हुने, दुधको मात्रै बजारीकरण गर्न समस्या पर्ने देखिएपछि उत्पादनलाई विविधिकरण गर्ने योजना बनाइएको हो । स्थानीय सरकार, प्रदेश सरकार तथा गैर सरकारी संघ संस्थासंग साझेदारी जुटाएर विविधिकराणको योजनालाई सफल बनाउने संकल्प गरिएको छ ।
गत एक बर्षको अवधिमा मात्रै चार लाख ७३ हजार दुई सय ८१ लिटर दुध खरिद गरेको छ । एक बर्षको अवधिमा मात्रै सहकारी संस्थाले तीन करोड ४७ लाख ७८ हजार ६ सय ८५ रुपैयाँको कारोबार गरेको हो ।
सहकारी संस्थामा आवद्ध चार सय ६ जना किसान दुध उत्पादनमा जोडिएका छन् । हिउँद महिनामा दुध उत्पादन र संकलन धेरै हुने भएपछी बजारीकरणको समस्या बढ्ने देखिएपछि दुधको उत्पादनलाई विविधिकरण गरेर बजारीकरणको योजना अघि सारिएको सहकारी संस्थाले जनाएको छ ।
यस्तै, एक बर्षमा ६ सय ८४ किलो घ्यू खरिद गरेर विक्री गरिएको छ । जसबाट ७ लाख ४६ हजार दुई सय ७५ रुपैयाँको कारोबार भएको छ ।
एक हजार ६ सय ४५ लिटर दही विक्री गरिएको छ । जसबाट एक लाख ८० हजार ५ सय ७० रुपैयाँको कारोबार गरिएको छ भने एक सय ३७ किलो पनिर विक्रि गर्दा एक लाख ९ हजार एक सय २० रुपैयाँको कारोबार भएको छ ।