
नेपालगञ्ज- बाँके प्रहरीले जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाट गर्नेको खोजी थालेको छ। यस क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार जेनजीको आडमा सरकारी कार्यालय र सवारीसाधनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने जयसपुरका शालिकराम पाठक, दीपक टमटा र कोरियनपुरका मोहम्मद आदिललाई पक्राउ गरिएको छ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा बाँकेका करिब दुई दर्जन सरकारी तथा पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला र उच्च अदालत, राजस्व कार्यालय कोहलपुर, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, नेपालगन्ज भन्सार कार्यालय, नापी र मालपोत कार्यालयलगायतका कार्यालयबाट लुटिएका सामग्री फिर्ता गर्न सूचना जारी भएपछि केही सामान फिर्ता भएको छ।
बाँके प्रहरीले उपलब्ध भिडियो फुटेज हेर्दै तोडफोड, आगजनी र लुटपाटमा संलग्न अन्य व्यक्तिलाई पक्राउ गर्ने अभियान अघि बढाएको जनाएको छ। तर, आन्दोलनका क्रममा भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन।