
- भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भागेका ४६२ कैदी पुनः पक्राउ परेका छन् भने ६०३ अझै फरार छन्।
- कारागार र बालसुधार गृहबाट कुल १,१११ जना फरार हुँदा ४६ जनामध्ये २१ बाल कैदी पुनः पक्राउ परे।
- मधेस प्रदेश प्रहरीले २९ आरोपितमध्ये १ जना नियन्त्रणमा लिएर बाँकी २८ जनाको खोजी जारी राखेको छ।
जनकपुरधाम– मधेस प्रदेशको कारागार तथा बालसुधार गृहबाट भागेका ४६२ जना कैदी पक्राउ परेका छन्। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते मधेसमा रहेको विभिन्न कारागारबाट भागेका मध्येबाट हालसम्म ४४१ जना कैदी र बालसुधार गृहबाट भागेकामध्ये २१ जना बाल कैदी पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार आन्दोलनको क्रममा कारागारबाट १ हजार ४४ जना र बालसुधार गृहबाट ६७ जना गरी १ हजार १११ जना कैदी भागेका थिए।
आन्दोलनपछि प्रहरीले भागेका कैदीहरुलाई पक्राउ गर्ने क्रममा विभिन्न स्थानबाट हालसम्म कारागारबाट भागेका ४४१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ६०३ जना अझै फरार छन्। यस्तै बालसुधार गृहबाट भागेका मध्ये ४६ जना बालकैदी अझै पक्राउ पर्न बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिए।
उनका अनुसार आन्दोलनको मौका छोपी फरार भएका कैदीहरुमध्ये पक्राउ पर्न बाँकी रहेकाहरुको खोजतलास जारी रहेको छ। यस्तै, प्रहरी अनुसन्धानको क्रममा हिरासतबाट २९ जना आरोपित फरार भएकोमा हालसम्म १ जना मात्र पक्राउ परेका छन्। फरार रहेका २८ जना आरोपितको खोजतलास जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।