
विराटनगर– इलामका पहिरो पीडित नागरिकलाई कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु, तेल, नुन बेसार तथा ब्ल्यांकेट, म्याट्रेस, त्रिपाल इलाम पठाइएको छ।
मंगलबार बिहान इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ। प्रभावितहरुका लागि आवश्यक्ता अनुरुप थप सामाग्री पठाइने आचार्यले जानकारी दिए।
पहिरोका कारण इलामको सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा कम्तीमा ३९ जनाको मृत्यु भएको छ।
त्यसैगरी पहिरोका कारण १४ वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ। इलाममा पहिरोमा परी एक जना बेपत्ता भएका छन्।
कोेशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभर शनिबार र आइतबार भएको वर्षापछि विपद्मा परेका ५ सय ५५ जनाको उद्धार गरिएको थियो।
यसअघि विपद्मा प्रदेश सरकार हराएको भन्दै आलोचना भएको थियो।